Logo

लालीगुराँसको जोड पूर्वाधार र पर्यटनमा

अर्जुन माबोहाङ


प्रदेश- १
जिल्ला- तेह्रथुम
स्थानीय तह- लालीगुराँस नगरपालिका
केन्द्र-वसन्तपुर बजार
क्षेत्रफल-९०.२७ वर्गकिलोमिटर
वडा- ९ वटा
घरधुरी संख्या- ३ हजार ४ सय ४६
जनसंख्या- १७ हजार ८ सय ५८
साक्षर- ७०.७ प्रतिशत
उपप्रुमख- तिला पोखरेल

प्रदेश १ को तेह्रथुम जिल्लाका ६ पालिकामध्ये लालीगुराँस नगरपालिका एक हो । साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्नाम र दांगपा गाविस मिलाएर नगरपालिका बनाइएको हो । नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ नगरपालिका, पश्चिमतर्फ धनकुटा, संखुवासभा जिल्ला, उत्तरतर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका रहेको छ । तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रलाई लालीगुराँसको राजधानीका रूपमा संरक्षण भएअनुसार यो नगरपालिकाको नाम लालीगुराँस राखिएको हो । यस नगरपालिका नौवटा वडामा रहेका छन् । ९०.२७ वर्गकिलोमिटर क्षेत्रफल रहेको नगरपालिकामा ३ हजार ४ सय ४६ घरधुरी, १७ हजार ८ सय ५८ जनसंख्या र ७०.७ प्रतिशत साक्षर रहेका छन् ।
केही वर्षअघिसम्म यो पालिकाको ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिजन्य सामग्री ढुवानीमा निकै सकस थियो । सडक सञ्जालहरू जोडिएका थिएनन् । गाउँ र बजार केन्द्रसम्म जोडिने सडक नहुँदा यहाँका स्थानीयले उत्पादन गरेको कृषि उपजका सामग्री थाप्लोमै बोकेर घण्टौं लामो बाटो पु¥याएर बिक्री गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । बजार केन्द्रसम्म पुग्न कुनै सवारी साधन थिएनन् । तर, गाउँ र बजार केन्द्रसम्म जोड्ने सडक निर्माण भएपछि यहाँको अवस्था फेरिएको छ । स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएसँगै नागरिकका समस्यालाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार, पर्यटन विकासले गति लिन थालेपछि अवस्था फेरिएको हो । भौतिक पूर्वाधारअन्तर्गत पालिकाको सबै वडा र टोलसम्म जोडिने सडक निर्माण गरिएका छन् । सडक निर्माणसँगै पुगेपछि सवारी साधन गाउँगाउँमा पुग्न थालेका छन् ।
स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएसँगै नागरिकहरूले विकासले गति लिएको लालीगुराँस नगरपालिका ५ का रमेश बस्नेतले बताए । उनी भन्छन्, ‘५ वर्ष पहिलेसम्म गाउँमा सडक सञ्जाल थिएनन्, हामीले उत्पादन गरेको तरकारी, फलफूल बिक्री गर्न कि वसन्तपुर, कि त धनकुटाको सिधुवा बजार नै बोकेर पु¥याउनुपथ्र्यो । तर, अहिले यो अवस्था छैन, घरनजिकैबाट बस चढ्न पाइन्छ । हामीले उत्पादन गरेको बस्तु बिक्री तथा खाद्यान्न ढुवानी गर्न ट्याक्टर, बस, टेम्पो गाउँसम्म आउँछन् । दैनिक गाउँसम्म बस आउने गरेकाले पनि हामीलाई सहज भएको छ ।

भौतिक पूर्वाधार विकासका लागि स्काभेटर, जेसीबी नै खरिद गरी सडक निर्माणलाई तीव्रता दिँदै आएको पालिकाले जनाएको छ । अन्य पालिकाहरूमध्ये यो पालिका स्रोतसाधनको रूपमा सम्पन्न छ । ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यका साथ पालिकाले नगर बस खरिद गरी सेवा दिँदै आएको छ । पालिकाको आफ्नै एम्बुलेन्स, दमकल, जेसीबीलगायतका स्रोतसाधन जोडेको छ । कुनै पालिकामा एउटा एम्बुलेन्ससम्म जुटाउन नसक्दा यो पालिका स्रोतसाधनमा सम्पन्न बन्दै गएको छ ।
‘व्यावसायिक कृषि र पर्यटन हाम्रो सार, लालीगुराँस नगर विकासको आधार’ भन्ने मूल नाराका साथ आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं अव्यवस्थित रूपमा रहेको पूर्वाधारलाई प्राथमिकता दिँदै आएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकासपछि नगरपालिकाको सोल्मा, सुङ्नाम, फुलेक, दाँगपा तथा वसन्तपुरको तल्लो क्षेत्रमा यातायातका सवारी साधन सञ्चालन आएका छन् । नगरपालिकाको विभिन्न वडामा नयाँ ट्र्याक तथा सोलिङ र स्तरोन्नतिका काम भइरहेका छन् । नगरपालिका र वडा केन्द्रहरू मात्र नभई गाउँगाउँसम्म सडक पुगेका छन् ।
नगरपालिकामा बसोबास गर्दै आएका विभिन्न जातजाति भाषा, धर्म–संस्कृतिलाई संरक्षण तथा संवद्र्धनका लागि मन्दिर, गुम्बा, माङहिमलगायतका पूर्वाधार निर्माण भएका छन् । पर्यटन विकासको क्षेत्रमा चोलुङ पार्क निर्माण गरिएको छ । पार्क निर्माणसँगै यहाँ दैनिक १ सयभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । पर्यटकहरूको आगमनले यहाँको आर्थिक गतिविधिसमेत बढ्दै आएको छ । नगर क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको संरक्षणका लागि वार्षिक रूपमा रकम विनियोजन गरी काम गर्दै आएको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
तेह्रथुमका अरू पालिकाहरूभन्दा यो पालिकाले विकासमा निकै फड्को मारेको सरोकारवालाहरूले बताउने गरेका छन् । मध्यपहाडी लोकमार्गले छोएको छैन, पूर्वकै परिचित पर्यटकीय गन्तव्य गुराँसको राजधानी (टीएमजे) तीनजुरे, मिल्के, जलजले क्षेत्रको प्रवेशद्वार नै यो पालिका हो । हिउँ पर्ने सिजन र गुराँस फुल्ने बेला नेपालको विभिन्न जिल्लाका साथै भारत तथा विभिन्न देशका नागरिकहरू यहाँ आउने गर्ने गरेका छन् । पर्यटकीय रूपमा परिचित टीएमजेसँगै चोलुङ पार्क निर्माण अझ पर्यटकहरूको आकर्षण थपिएको छ । यहाँ आउने पर्यटकहरू चोलुङ पार्क, देउराली, आरआर गार्डेन, घुर्बिसे, पाथीभरा, तीनजुरे, पाँचपोखरी, चौकी, मंगलबारे, गुफापोखरी तथा मेन्छ्यायेम डाँडालगायतका स्थानहरूमा पुग्ने गरेका छन् ।
खानेपानीको क्षेत्रमा वसन्तपुर खानेपानीको मर्मत तथा वडाहरूमा रहेका आयोजनाहरूलाई व्यवस्थापन मुहान संरक्षण, पाइप लाइन विस्तार तथा नागरिकहरूलाई पाइप वितरण गरिएको छ । संघीय सरकारको साना सिँचाइ कार्यक्रमअन्तर्गत साँझेखारीमा योजनाहरू सञ्चालन, मर्मतसम्भार तथा विस्तार गरिएका छन् । स्वास्थ्य क्षेत्रमा नागरिकको समस्यालाई ध्यानमा राखी डिजिटल एक्सरे मेसिन खरिद गरि सञ्चालनमा ल्याएको छ । निःशुल्क औषधि वितरण, रोग निदान तथा उपचार शिविर सञ्चालनका साथै नगरपालिकाभित्रका सुत्केरी भएका महिलालाई स्वास्थ्य केन्द्रसम्म पु¥याउन एम्बलेन्स सेवामा छुट गराउँदै आएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमका साथै अपाङ्गता भएका नागरिकलाई सहज परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका विद्यालयहरूमा आफ्नै लगानीमा अंगे्रजी शिक्षालाई निरन्तरता दिँदै आएको छ । त्यस्तै गरिबी निवारणका लागि उघुउद्यम विकास कार्यक्रममार्फत विभिन्न सीपमुलक तालिमहरू सञ्चालन गरेको छ । नगरपालिकाको सहयोगमा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमले सञ्चालन गरेको तालिममा विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरू लाभान्वित भएको नगर उपप्रमुख तिला पोख्रेलले बताइन् । कार्यक्रममार्फत ढाका बुनाई, वेद बाँस सामग्री उत्पादन, तरकारी खेती, हाते होजियारी, ड्राइभिङलगायतका तालिम सञ्चालन गरी व्यवसायीहरूलाई व्यावसायिक बनाउन उत्प्ररित गरिएको छ ।
न्यायिक समितिलाई सक्षम बनाउन विभिन्न तालिम तथा आवश्यक उपकरण, पुस्तकालय व्यवस्थापन गरिएको छ । बस्ती तथा वडास्तरमा मेलमिलाप केन्द्र स्थापना गरी ११ जना मेलमिलापकर्ता छनोट गरिएको छ । न्यायिक समिति घरेलु हिंसा सामाजिक हिंसा, लेनदेन, साँध–सिमानाको विवाद मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको छ ।
नगरपालिकामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित रूपमा रहेको घरधुरीको लागत संकलन गरी प्रक्रिया अगाडि बढाएको छ । पर्यटकीय क्षेत्रमा गुराँसको बिरुवा रोपण, वनक्षेत्रमा वृक्षारोपण, पार्कहरू निर्माण गरिएका छन् । त्यस्तै मेयरसँग किसान कार्यक्रमअन्तर्गत कृषकहरूलाई फलफूल तथा तरकारीको बीउ वितरण गरिएको छ । त्यस्तै दुग्ध पदार्थलाई सुरक्षित भण्डारणका लागि विभिन्न समूह सहकारीहरूलाई चिलिङ भ्याट प्रदान गरिएको छ । किसानलाई प्रविधिसँग जोड्न कृषि प्राविधिकहरूलाई परिचालन गरी हाते ट्याक्टर च्यापकटर मेसिन तथा जेनेरेटर प्रदान गरिएको छ । वन क्षेत्रमा नर्सरी व्ववस्थापन तथा सहजकर्ता परिचालन गर्दै बजार क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
वसन्तपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल विकास गर्दै चौबीसै घण्टा सेवा प्रवाह हुने भएको छ । नगरपालिकाको वसन्तपुर स्वास्थ्य केन्द्र र सोल्मा स्वास्थ्यचोकीमा वर्थिङ सेन्टर स्थापना गरिएका छन् । खेलकुद विकासतर्फ वडा केन्द्रहरूमा खेलमैदान निर्माण, खेलकुद सामग्री प्रदान गरिएको छ । युवाहरूलाई विभिन्न प्रतियोगितात्मक खेलकुद कार्यक्रम तथा प्रशिक्षणहरू सञ्चालन हुँदै आएका छन् । शान्ति सुरक्षाका लागि नगर प्रहरी थप गर्दै मंगलबारे र दाँगपामा प्रहरीचौकी स्थापना गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय स्थलहरूमा वाईफाई जडान गरी सूचना प्रविधिलाई जोड्ने दिने तयारी गरेको छ ।
नगरपालिका, वडा कार्यालय, सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधिसम्बन्धी तालिमहरूको सञ्चालन गरी प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ । नगरपालिकाको सबै अभिलेख वेबसाइटमा राख्दै मोबाइल नेटवर्क नपुगेको स्थानहरू सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरिने भएको छ । नगरलाई आर्थिक रूपमा समृद्ध बनाउन राजस्व संकलनलाई प्रभावकारी बनाउने तयारी भएको छ । कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने अनुभूति दिलाउन नगरवासीसँग घरदैलो कार्यक्रम सञ्चालन गरी कर तिर्न बाँकी रहेकालाई विशेष छुटको व्यवस्था गर्दै राजस्व संकलन गर्दै आएको छ । स्थानीय पसल, व्यवसाय, उद्योग, होटल सञ्चालकहरूले अनिवार्य रूपमा नगरपालिकामा व्यवसाय दर्ता गर्नुपर्ने नीति अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्