Logo

सेयर बजारको सुधार आवश्यक

सेयर बजार कुनै पनि मुलुकको अर्थतन्त्रको ऐना हो । धितोपत्र बोर्डको नयाँ नेतृत्वका लागि यो चुनौती पनि हो ।

वर्ष २०७८ मा सेयर बजारले सबैभन्दा बढी आरोह–अवरोहको सामना गरेको छ । कोरोना कहरले आक्रान्त अर्थतन्त्रमा सेयर बजारको लगानीले लगानीकर्तामात्र नभई सरकारलाई पनि राहत दिएको थियो । लगानीकर्ताले बजारबाट कमाए भने सरकारले राजस्व आम्दानी ग-यो । यसै वर्षले सेयर बजार राजस्वको राम्रो स्रोत हुन सक्ने आधार पनि देखाइदियो । त्यसैले सरकारले सेयर बजारमा ध्यान पनि दिन सुरु गरेको छ । तर, २०७८ मा नै सेयर बजारको नियामक निकायमा पहिलो पटक इन्साइडर ट्रेडिङको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही पनि गरियो । नियामक निकाय धितोपत्र बोर्डका अध्यक्षलाई बरखास्त गरेर नयाँ नियुक्ति गरियो भने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिए । तर, यसमा सरकार भने चुकेको देखिन्छ । यदि इन्साइडर ट्रेडिङ नै हो भने राजीनामाले उन्मुक्ति नहुुनुपर्ने हो । यदि इन्साडर ट्रेडिङ थिएन भने बोर्डका अध्यक्षमाथि अन्याय हुन जान्छ । त्यसैले सरकारले राजीनामाको अर्थ गलत गरेर उन्मुक्ति भन्ने परिभाषा स्थापना गर्न खोजेको हो भने सरकारलाई यसले दीर्घकालीन रूपमा नै हानि गर्छ । सेयर बजारमा २०७८ साल स्मरणयोग्य हुनुको कारण यसै वर्ष बजारले ऐतिहासिक उचाइ लिएको कारणले पनि हो । कोरोना कहरका कारण लगानीका अन्य क्षेत्रमा शिथिलता आएका कारण बैंक तथा वित्तीय संस्थालगायत सबैतिरबाट सेयर बजारमा लगानी गएका कारण सेयर बजारमा कारोबार रकमका साथै सेयर बजार परिसूचक नेप्सेले पनि ऐतिहासिक उचाइ छुन सफल भएको थियो । २०७८ भदौ २ गते सेयर बजारमा मापक नेप्से इन्डेक्स ३१९८.६० अंकमा पुगेको थियो । यस दिनको नेप्से मात्र ऐतिहासिक नभएर कारोबार रकम पनि २१ अर्बभन्दा बढीको भएका कारण कारोबार रकम पनि ऐतिहासिक नै रहेको थियो । अर्थतन्त्रको निराशाका बीच सेयर बजारको यो उचाइले एक प्रकारले आशा पनि जगाएको थियो ।
तर, नेपालको सेयर बजारमा उत्पादनमूलक उद्योगभन्दा बैंक तथा वित्तीय संस्थाको बोलवाला भएका कारण सेयर बजारलाई नेपाली अर्थतन्त्रको ऐना भन्ने कि नभन्ने भन्नेबारेमा भने यथेष्ट छलफल आवश्यक छ । अन्य विकसित मुलुकमा उद्योग–व्यवसाय विस्तार गर्न उद्यमीले सेयर बजारमार्फत पैसा उठाउने गर्छन् । तर, नेपालमा भने उद्यमी–व्यवसायीहरू आफ्नो व्यवसाय स्थापना गर्न तथा विस्तार गर्न सेयर बजारभन्दा बैंक तथा वित्तीय संस्थामा भर पर्छन् । त्यसैले नेपालको सेयर बजार अझै समग्र अर्थतन्त्रको ऐना बनिनसकेको देखिन्छ । सिद्धान्ततः सेयर बजार कुनै पनि मुलुकको अर्थतन्त्रको ऐना हो । धितोपत्र बोर्डको नयाँ नेतृत्वका लागि यो चुनौती पनि हो । कारण अघिल्ला अध्यक्ष उत्पादनमूलक उद्योगलाई सेयर बजारमा भिœयाउने क्रममा नै इन्साइडर ट्रेडिङको आरोपमा परेका हुन् । उत्पादनमूूलक उद्योग–व्यवसायलाई सेयर बजारमा भिœयाउन सके वर्तमान अध्यक्षको सफलता त हुन्छ नै, नेपालको सेयर बजारमा अर्थतन्त्रको सही ऐना पनि बन्छ ।
यस्तो आरोह–अवरोह भोगेको सेयर बजारले समग्र वर्षान्तमा बजार बन्द हुँदा भने २ वैशाखको २७३५.४६ अंकबाट ३२०.२१ अंक घटेर वर्षको अन्तिम दिन चैत ३० गते ११.७१ प्रतिशतले घटेर बन्द भएको छ । हुन त चैत ३० गते ३०.२४ अंक बढेर २४१५.२४ बिन्दुमा बन्द भएको हो, तर वैशाखको बजार खुल्दाको अंंकबाट दाँज्दा भने ३२०.२१ अंक घटेको छ । नेप्से इन्डेक्स तथा कारोबार रकममा ऐतिहासिक रेकर्ड राखेको बजारले वर्षान्तमा भने वर्षको सुरुभन्दा घटेर बन्द भएको छ । सरकारले सेयर बजारलाई सहजीकरण गर्न धितोपत्र बोर्डलाई सशक्त कानुनी आधार तथा प्रविधि एवं मानव संसाधनले युक्त बनाई स्वायत्तता दिँदा सेयर बजार सरकारको पनि राम्रो आम्दानीको स्रोत बन्ने कुरामा दुइमत देखिन्न । तसर्थ, सरकारले बजार सुधार तथा पारदर्शितामा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्