१५ वर्षदेखि निर्माणाधीन अवस्थामा रेसुंगा विमानस्थल
गुल्मीमा १५ वर्षअघि शिलान्यास भएको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा रहेको हो ।
विमानस्थलको शिलान्यास गरेका तात्कालिक पर्यटनमन्त्री तथा हाल नेकपा एमालेको उपमहासचिव समेत रहेका ज्ञवालीले जग्गा, बजेट, सरकार परिवर्तन, योजनाको झन्झटिलो प्रक्रिया र कोरोना भाइरसका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएका छन् । जग्गा अधिकरण र बजेटको अभावका कारणले सुरुको करिब ७÷८ वर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन । त्यसपछि २०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भए पनि अझै सकिएको छैन । प्रत्येक वर्ष दसैंबाट नियमित उडान हुनेर भने पनि कैयौं दसैं आशाामा बितिरहेका छन् ।
विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले कच्ची उडान गरेको थियो । कच्ची उडानपछि आफूहरूको सपना छिट्टै पूरा हुने भनेर उत्साहित भएको स्थानीय हरि घिमिरेले बताए । तर, कच्ची उडानको चार वर्ष पुग्न लाग्दासमेत नियमित उडान हुन सकेको छैन । विमानस्थलमा अहिले विभिन्न चरणका काम फरकफरक निर्माण व्यवसायीबाट भइरहेका छन् । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँको लागतमा निर्माण भएको हो । त्यस्तै अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले अहिले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे सात करोड २५ लाख लगानीमा गरेको हो । कोभिड, निर्माण सामग्री र निर्माण व्यावासायी आफैको ढिला सुस्तीका कारण समयमा काम भएको छैन ।
वैशाखभित्र परीक्षण उडान
निर्माणाधीन विमानस्थलमा यही वैशाखभित्र परीक्षण उडान हुने उक्त आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले दाबी गरे । “अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं,” इन्जिनियर परियारले भने, “अबको १० दिनमा निर्माणको काम सकेर वैशाखभित्र परीक्षण उडान हुन्छ ।” उनले वैशाख अन्तिमसम्म भए पनि परीक्षण उडान हुने दाबी गरे ।
गत १÷२ हप्ता निर्माण व्यवसायी सम्पर्कविहीन भएर केही समस्या भएको भन्दै इन्जिनियर परियारले शुक्रबारबाट काम सुरु भई १० दिनमा निर्माणको काम पूरा हुने बताए । अहिलेसम्म विमानस्थलमा पटकपटक समस्या भइरहे पनि अब केही समस्या नभई परीक्षण उडानपछि नियमित उडानको प्रक्रियामा जाने इन्जिनियर परियारको भनाइ छ ।
३५ करोडमा विमानस्थल तयार
कुल ३५ करोड लागतमा रेसुंगा विमानस्थल तयार हुने आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारका अनुसार पटकपटक गरेर समष्टिगत रूपमा कुल ३५ करोड लागतमा विमानस्थल तयार हुने बताए ।
शिलान्यासको समयदेखि जग्गा अधिकरण, विस्थापितलाई स्थापितदेखि तारजाली, धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावरलगायतका काममा बजेट खर्च भएको छ । निर्माण सकिएपछि फरकफरक शीर्षकमा भएको खर्च सार्वजनिक गरिने आयोजना कार्यालय जनाएको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । जग्गा अधिकरणदेखि कटिङ, फिलिङ, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड भएको विमानस्थलको निर्माणको काम हेरिरहेका इन्जिनियर परियारले जानकारी दिए ।
पछिल्लो पटक विमानस्थलको शिलान्यास गरेका ज्ञवालीले निर्माणको अवस्था सम्बन्धमा अनुगमन गरेका थिए । “नियमित उडानका लागि नेपाल एयरलायन्स र निजी कम्पनीहरूसँग छलफल भइरहेको छ,” पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले भने, “निर्माणको काम सकिएपछि परीक्षण गरेर नियमित उडान भइहाल्छ ।” उनले विमानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशील हुने भएकाले सुरक्षा प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई निर्देशन दिएका थिए ।