अनावश्यक हल्लाले छुर्पी किसान र व्यवसायी सशंकित

इलाम-७ चैतमा मेची राजमार्गअन्तर्गत इलाम र झापाको सिमावर्ती क्षेत्रबाट प्रहरीले व्यवसायीबाट छुर्पी बरामत ग-यो । व्यवसायीको चर्को विरोधपछि प्रहरीले सो छुर्पी छोड्यो । छुर्पी त प्रहरीले छोड्यो तर त्यसको असर अझै पनि स्थानीय छुर्पी उत्पादन गर्ने किसान तथा उद्योगीलाई छ ।
कर तिरेर कारोबार गरेको बस्तु पनि अवैध भनेर प्रहरीले बरामत गरेको भन्दै किसान तथा व्यवसायी आक्रोशित भए । कर प्रणालीमा दर्ता भइ कर तिरेर कारोबार गरिएको छुर्पीलाई प्रहरीले बरामद गर्नुले सम्पूर्ण किसान तथा व्यवसायीहरु हतोेत्साहित भएका छन् ।
विशेषगरी छुर्पी पहाडी क्षेत्रमा उत्पादन हुन्छ । पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थथुम, धनकुटालगायतका जिल्लामा उत्पादन हुने छुर्पी तेस्रो मुलुक निकासी हुन्छ । स्वदेशी उत्पादन छुर्पीले विदेशी मुद्रा समेत आर्जन गरेर देशकै अर्थतन्त्रलाई टेवा दिइरहेको छ । तर यहि छुर्पी नेपाल प्रहरीले नै अवैध भनेर बरामत गरेको घटनाप्रति नेपाली छुर्पी व्यवसायीले आपत्ति जनाएका छन् ।
बरामत भएको छुर्पी त प्रहरीले फिर्ता दियो तर आम किसानमा छुर्पी अवैधानिक भन्ने भ्रम परिरहेको हुनसक्ने भन्दै व्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन् । किसान तथा व्यवसायीहरुले छुर्पी अवैध नभएको र पैठारीमा समस्या नहुने भन्दै किसानलाई बुझाउन लागिपरेको बताउँदै आएका छन् । धेरै किसानले कसरी छुर्पी अवैध भयो भन्न थालेको बताउँदै यस सम्बन्धी भ्रम चिर्न आवश्यक रहेको बताउन थालेका छन् । किसानमा छुर्पी अवैध नहुने भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ ।
पान नम्बरसहितको बिलबाट कारोबार हुने छुर्पीलाई भ्याट बिल आवश्यक नपर्ने व्यवसायीहरुको भनाइ छ । छुर्पी कारोबार गर्न भ्याट बिल नचाहिने भएपनि प्रहरीले भ्याट बिल आवश्यक पर्ने भन्दै छुर्पी नियन्त्रण गरेकाले आपत्ति रहेको उनीहरुको भनाइ छ । तर छुर्पी उठाएपछि अनलाइनमार्फत भिसिटिएस (सवारी साधन र कर खेप प्रणाली) दर्ता गर्नुपर्ने हुन्छ । सो दिन भिटिएस दर्ता नभएपछि प्रहरीले अनुसन्धानका लागि प्रदेश १–०१–००१ च ९२१९ नम्वरको बोलेरो गाडीमार्फत अन्दाजी १९ लाख बराबरको २००० किलोग्राम छुर्पी नियन्त्रणमा लिएको थियो ।
छुर्पी कारोबार गर्दा पान नम्बर भए पनि भ्याट नभएको भन्दै प्रहरीले सामान पक्राउ गरेको उनीहरुको भनाइ छ । भिसिटिएस गर्न अनलाइनमार्फत गर्नुपर्ने भएपनि सो दिन नेट नभएका कारण व्यापारीले अनलाइन दर्ता नगरेको बताइएको छ । तर पान नम्बर हुँदाहुँदै प्रहरीले छुर्पीलाई नै अवैध भन्दै सञ्चारमाध्यमलाई जानकारी गराएकाले छुर्पी अवैधानिक हुने भन्ने भ्रम स्थानीय किसानसम्म पुगेको व्यवसायीहरु बताउँछन् ।
नेपाली उत्पादन छुर्पी अवैध हैन । यसलाई व्यवसायीहरुले छुर्पी भन्ने नेपालकै मात्र हुनुपर्ने र अन्य देशले उत्पादन गरे अरु नै नाम राख्नुपर्ने माग राख्दै आएको डेरी एशोसिएसन प्रदेश– १ का सचिव अशेष बुढाथोकीको भनाइ छ । आफूहरु मन्त्रालय मार्फत नै छुर्पीको अन्तर्राष्ट्रिय बजार खोज्न लागिरहेको समयका प्रहरीले भ्रममा पारेको व्यवसायीको भनाइ छ । सचिव बुढाथोकीले प्रहरीले जनतामा भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाए । भिटिएस प्रणालीमा दर्ता गर्न सबै किसानमा ज्ञान नभएकाले यस्ता व्यवहारिक कुरामा प्रहरीले बझ्नु पर्ने उनको भनाइ छ ।
सुरुमा प्रहरीले सामान बरामत गरेको भएपछि व्यवसायी एकजुट भएर जानकारी गराएपछि पछि सामान छोडिएको थियो । तर यस्ता कार्यले आफुहरुले बिनाबित्थाको झन्झट ब्यहोर्नुपर्ने ब्यवसायीहरुको भनाई छ ।
यता प्रहरीले भने अनुसन्धानका लागि सो सामान समातिएको भएपनि सनुसन्धानपछि सामान छोडिएको बताउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाका अनुसार अनुसन्धान पछि सो सामान पनि व्यवसायीलाई जिम्मा लगाइएको थियो ।
छुर्पी समातिएपछि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षण सहित पछि धर्ना समेत दिएका थिए । मेची राजमार्ग अन्तर्गत जोरकलसमा प्रहरीले बरामद गरेको छुर्पी राजस्व अनुसन्धान केन्द्र इटहरीमा पठाइएकोमा कुनै अनुसन्धान गर्नु नपर्ने भन्दै केन्द्रले किसानलाई नै फिर्ता दिएको धर्नामा सहभागी मिलन खत्रीले बताए ।
तेस्रो मुलुक निर्यात हुने छुर्पी विशेषगरी अमेरिकामा कुकुरको आहाराका रुपमा जाने गरेको छ । हड्डीसहितको मासु कुकुरलाई दिँदा लामो समय रहेमा दुर्गन्ध फैलिने भएपनि पछिल्लो समय त्यहाँका नागरिकले कुकुरलाई सफा हुने भएकाले यसको व्यापार फस्टाएको छ । चालू आर्थिक वर्षको गएको ८ महिनामा १ अर्व ७१ करोड ४९ लाख ८० हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको भन्सार विभागको तथ्याकंमा उल्लेख छ ।