नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान «

नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान

स्याङ्जा-कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यवसाय सुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।
रोजगारी गुमाएका तथा आफ्नै व्यवसाय सुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।
उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० युवालाई जनही ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए । पालिकाले व्यवसाय गर्न चाहानेका लागि स्टार्टअपका रुपमा अनुदान दिँदै आएको छ ।
“कोरोना संक्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरेका छौं” नगरप्रमुख खाँणले भने, “सोही कोषमार्फत आफ्नै व्यवसाय गर्न चाहाने तथा व्यावसायको थप प्रवद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने योजना छ ।”
विदेशमा रोजगारी गुमाई फर्किएका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इविक सञ्चालन कार्यविधि–२०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा स्थापित कोषबाट आर्थिक सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण र अन्य कारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले स्वरोजगार बनाउन र उत्पादनमुलक क्षेत्रमा पे्ररित गर्न नगद अनुदानले निक्कै सहयोगी हुने विश्वास गरेको छ ।
विभिन्न समस्याका कारण रोजगारी गुमाएका र अब के गर्ने, के नगर्ने भन्ने अन्यौलमा रहेका युवायुवतीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रुपमा बिगत दुई वर्षदेखि नगद अनुदान दिन थालिएको युएनडिपीको स्थानीय साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।
नगरपालिकाले बिगत २ वर्षदेखि नवउद्यमी तथा कोभिड प्रभावितलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ । नवउद्यमीलाई अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउन नगरपालिकाले आग्रह गरेको छ ।
उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इविकमार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालनमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्