एक वर्षमा ३२० अंकले घट्यो नेप्से «

एक वर्षमा ३२० अंकले घट्यो नेप्से

२०७८ साल दुई वैशाखमा २७३५.४६ अंकमा सुरु भएको सेयर बजार वर्षको अन्तिम दिन चैत ३० गते ३०.२४ अंक बढेर २४१५.२४ अंकमा बन्द भएको छ । सेयर बजार मापक नेप्से परिसूचकले २०७८ साल एक वर्षमा ३२०.२१ विन्दु अर्थात् ११.७१ प्रतिशतले घटेको छ ।
कोरोना कहरमा पनि उत्साहजनक रुपमा कारोबार भएको सेयर बजारमा पछिल्ला महिनाहरुमा सुस्तता छाएको थियो । तर वर्षको अन्तिम दिन भने केहि बढेर बन्द हुँदा लगानीकर्ताले राहत महसुस गरेका छन् । बुधबार सेन्सेटिभ इण्डेक्स पनि ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
तर, नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएको थियो ।
बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
यसैबीच सेयर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिँदै फ्लोर सिट हेर्न नपाउने व्यवस्था गर्न भनेको हो ।
हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले सोही आधारमा बोर्डले नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ । ‘धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको बोर्डले जनाएको छ ।
यस्तै कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम पनि खुला गर्न धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एक्जिविसन कक्ष बन्द गरिएको थियो । ‘हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ । यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एक्जिविसन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्