दुई हजार सेवाग्राहीको भीड हुने कार्यालय सुनसान «

दुई हजार सेवाग्राहीको भीड हुने कार्यालय सुनसान

दैनिक करिब दुई हजार सेवाग्राहीको भीड हुने वैदेशिक रोजगार विभागका श्रमस्वीकृति जारी गर्ने कार्यालय अब सुनसान हुने भएका छन् । वैदेशिक रोजगारीका लागि जारी गरिँदै आएको सबैखाले श्रमस्वीकृतिका यही वैशाख दुई गतेबाट पूर्ण रुपमा अनलाइन हुने भएपछि श्रम कार्यालय सेवाग्राहीविहीन हुने भएका हुन् ।
वैदेशिक रोजगार विभागले व्यक्तिगत, संस्थागत तथा अन्य श्रमस्वीकृति भौतिक उपस्थित नभई अनलाइनमार्पmत नै गर्ने भएपछि भीडभाड हुने कार्यालय एक दशकपछि सुनसान हुने भएका हुन् । यसअघि व्यक्तिगत श्रम स्वीकृतिमात्र अनलाइन गरिँदै आएको थियो । विभागका महानिर्देशक शेषनारायण पौडेलले अब व्यक्तिगत श्रमस्वीकृति कामदार तथा संस्थागत श्रमस्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि कार्यालय नै जानुपर्ने बाध्यता हटेको बताए । “साधारण श्रमस्वीकृति लिन समेत यसअघि श्रमिकले घन्टौं लाइन बस्नुपर्ने बाध्यता अब हटाइएको छ । विभागले अनलाइन श्रमस्वीकृतिलाई ‘फस्र्ट कम फस्र्ट सर्भ’ आधारमा सेवा दिने गरी व्यवस्था गरिएको छ,” महानिर्देशक पौडेलले भने ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रमस्वीकृति दिने गरी भएको निर्णय कार्यान्वयनमा लैजाने तयारी भइसकेको बताए । कार्यालयले पुनः श्रमस्वीकृति, संस्थागत श्रमस्वीकृति र व्यक्तिगत श्रमस्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रमस्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रमस्वीकृतिको व्यवस्था गरिएको हो ।
कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रमस्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक १ हजार भन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीति अनुसार अनलाइन प्रणालीको विकास गरिएको बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाई छिटो, छरितो र पारदर्शी रुपमा सेवा प्रवाह गर्न यस्तो व्यवस्था मिलाइएको बताएका छन ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशन अनुसार पुनः श्रम स्वीकृति सँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न गरिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ । कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुन सक्ने भएकोले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्