अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपनः डा. शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । .
मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर पनि गरे । उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताए । नेता कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने पनि बताए ।
कोईरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । उनले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए । कोईरालाले नेपाली काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरु जस्तो जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने पनि बताए ।