वायु प्रदूषण : बर्सेनि ७० लाखको मृत्यु

केही समयअघि विश्व स्वास्थ्य संगठन-वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ) ले प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन–प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । वास्तवमा वायु प्रदूषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मान्न सकिन्छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको छ । सो सम्बधमा वातावरणविद् डा. माधव अधिकारीले एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) काठमाडौँ को रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९ र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार, वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३५ भन्दा कम राम्रो मानिन्छ । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने २०१ भन्दा माथि अस्वस्थकर हो । त्यस्तै ३०१ भन्दा माथि घातक हो । यसरी हेर्दा नेपालमा जुनजुन ठाउँमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक घातक रहेको थियो ।
वायु प्रदूषण बढ्नुमा उद्योगधन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भए तापनि नेपालजस्ता अविकसित र अल्पविकसित देशहरूमा वायु प्रदूषण बढ्नुको प्रमुख कारण ३०, ३५, ४० वर्षभन्दा पुराना बस, कार, जिप, भ्यान, मोटरसाइकललगायतका गाडीहरू अझै पनि चल्न दिनु हो, करको लोभमा । यसरी पुरानो बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडी चलाउनेहरूका अनुसार यस्ता सवारी साधनमा सरकारले अत्यधिक कर लिइरहेको छ । युरो मापदण्ड नभएको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरू प्रयोग गर्नु, नेपालका ग्रामीण क्षेत्रका मानिसले भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने गर्नु, गोबरको गुइँठा बाल्नु, भुस र फुसलाई पनि इन्धनका रूपमा प्रयोग गर्ने गर्नु आदि पनि वायु प्रदूषण बढ्नुका कारण हुन् ।
गएको केही वर्षदेखि विश्वका धेरै देशहरू जस्तै चीन, अस्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडालगायतका देशमा कैयांै दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वनजंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदूषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रममा रहेको देखन्छ । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदूषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढीपहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसको रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा मतैक्य हुन सकेको छैन । त्यसैले जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै अर्को मुख्य समस्याको रूपमा रहेको वायु प्रदूषणका कारण आउने दीर्घकालीन असर कम गर्न नसके अबको ५० वर्षमा अरू कुराका साथै कञ्चन, स्वच्छ र शुद्ध खानेपानीको संकटका साथै खाद्यान्न संकटको पनि ठूलै समस्या आइपर्ने छ, मानवका लागि ।
संयुक्त राष्ट्रसंघसँग सम्बन्धित स्वास्थ्य निकायले सन् २००५ मै वायुको गुणस्तरसम्बन्धी निर्देशिका (एक्यूजी) जारी गरिसकेको छ । वायु प्रदूषण पनि मान्छेका लागि विभिन्न रोग सार्ने-सर्ने प्रमुख माध्यममध्ये एक हो । त्यसैले यो मामिलामा कुनै एक देश, एक क्षेत्र, एक समुदाय वा समूह, एक वर्ग, लिंग र जात वा जातिविशेषले मात्रै ध्यान दिएर पुग्ने कुरो होइन ।