सबै टोलमा सडक पहुँच
भूमे गाउँपालिकाको पाँच वर्षे प्रगति

रुकुम पश्चिम – रुकुम पूर्वको भूमे गाउँपालिकाले स्थानीय सरकार निर्वाचित भएपछिको कार्यप्रगति सार्वजनिक गरेको छ ।
पत्रकार, राजनैतिक दल तथा सरोकारवाला निकायलाई भेला गरेर स्थानीय सरकारले अहिलेसम्म सम्पादन गरेका कार्य प्रगति सार्वजनिक गरिएको हो । प्रगति सार्वजनिक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिहं श्रेष्ठले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भए गरेका काम, गाउँपालिकाका दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीति, न्यायिक समितिले सम्पादन गरेका कार्य र सार्वजनिक सेवा प्रवाहको अवस्थालगायतका विषयमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
२०७४ साल १४ असारमा भएको स्थानीय तहको चुनावपछि गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सरसफाइ, सञ्चार, यातायात तथा पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम गरेको बताएको छ ।
जिल्लाको अन्य स्थानीय तह र देशभरकै स्थानीय तहको तुलनामा उत्कृष्ट काम गर्दै आएको गाउँपालिकाले विभिन्न नमुनायोग्य काम गरेको दाबी गरेको छ । गाउँपालिकाले गरेको लक्ष्यअनुसार आर्थिक विकासलाई पहिलो, समाजिक विकासलाई दोस्रो र पूर्वाधार तथा अन्तरसम्बन्धित क्षेत्रको विकासलाई तेस्रो प्राथमिकताको आधारमा काम गरेको छ । गाउँपालिकाले सुरुको आर्थिक वर्षमा गुरुयोजना निर्माणको काम गरेको थियो । उसले एकीकृत गुरुयोजना निर्माण गरेर कामलाई अघि बढाएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले आफ्नो कार्यकालमा आफूले चुनावको बेला बाचा गरेकामध्ये ८० प्रतिशत वाचा पूरा भएको बताए ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण पनि लक्ष्यहरू प्राप्त गर्न समस्या भएको उनको भनाइ थियो । गाउँपालिकाको विकास र समृद्धिका लागि राम्रो जग हालेका कारण आगामी निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सपना पूरा गर्न सहज हुने उनको भनाइ थियो । सार्जजनिक कार्यक्रममा रुकुम पूर्वको भूमे गाउँपालिकाका झण्डै ४५ सय घरमा घरघरै खानेपानीको धारा पुगेका छन् । गाउँपालिकाका नौवटै वडाका चार हजार ४ सय ५९ उपभोक्ताको घरघरमा खानेपानीको धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएदेखि हालसम्म भएका कार्यसम्पादन सार्वजनिक कार्यक्रममा गाउँपालिकाले पालिकाका चार हजार ४ सय ५९ घरधुरीमा खानेपानीका धारा पुगेको जनाएको हो ।
त्यस्तै गाउँपालिकाका सबै मुख्य टोलसम्म ग्रामीण सडक सञ्जाल पुगेको बताएको छ । सडकलाई मेनरोड, लिंक रोड र रिङरोडको अवधारणामा विकास गरिएको बताएको छ । बाह्रैमहिना पानी बग्ने खोलामा झोलुंगे पुल निर्माण गरेर आवतजावतमा सहजता दिएको दाबी गरेको छ । जनप्रतिनिधि निर्वाचित हुँदा एउटा वडा कार्यालयको साँघुरो कोठाबाट सुरु गरिएको उल्लेख गर्दै अहिले व्यवस्थित भवन र कार्यालयबाट सेवा प्रवाह भइरहेको उक्त सम्मेलनमा बताइएको छ । गत आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकनमा पनि यो गाउँपालिका जिल्लाका अरु स्थानीय तहभन्दा उत्कृष्ट भएको थियो ।