कर्णाली प्रदेश सरकारले सेयरमा लगानी गर्ने
सुर्खेत – कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने भएको छ ।
डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत आयोजनामा सेयर लगानी गर्ने भएको हो । ती दुई आयोजनामा सेयर लगानी गर्न २३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा पाँच करोड सेयर लगानी गर्ने निर्णय गरेको हो ।
यी दुवै आयोजनाका प्रवद्र्धक कम्पनीले सेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गरेका थिए । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बानेश्वर काठमाडौंले कम्पनी ऐन, २०६३ बमोजिम प्रदेश सरकारलाई छुट्याइएको ११ करोड ७१ लाख ५०० कित्ता सेयर स्वीकार गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले सेयरवापतको रकम ११ करोड ७१ लख ५० हजार कम्पनीको बैंक चल्ती खातामा दाखिला गर्ने निर्णय गरेको छ । जगदुल्ला १०६ मेगावाटको आयोजना हो ।
यस्तै प्रदेश सरकारले २.१५ मेगावाटको अपर पराजुली खोला जलविद्युत आयोजनाको प्रवद्र्धक रारा हाइड्रोपावर कम्पनीले गरेको आग्रहबमोजिम विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सेयर कायम हुने गरी रकम सुनिश्चितताको प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनामा सेयर लगानीका सम्बन्धमा पत्राचार, अभिलेख, सेयर प्राप्ति र सेयरवापतको रकम भुक्तानीलगायतका आवश्यक कार्य गर्न जलस्रोत तथा ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ ।