बोक्सी र दाइजो प्रथा जरैदेखि उखेल्नुपर्छ «

बोक्सी र दाइजो प्रथा जरैदेखि उखेल्नुपर्छ

रौतहट-राष्ट्रपति विद्यादेवी भण्डारीले दाइजो प्रथा र बोक्सी प्रथा अन्त्यका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । आइतबार रौतहटको माधव नारायण नगरपालिका वडा न ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मधेशमा जरो गाडेर बसेको दाइजो तथा बोक्सी प्रथालाई जरै देखि उखलेर फाल्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताउँदै सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पु-याएको योगदानको कदर स्वरुप उनको नाममा अस्पताल निर्माण हुनुले पनि समाजमा केही गर्नुपर्छ भन्ने भावनाको विकास हुने बताइन् । मधेश प्रदेश अन्नको भण्डार भएको हुँदा यहाँ उत्पादन भएका कृषिजन्य पदार्थहरु निकासी गरेर आम्दानी गर्न सकिने भएकोले व्यावसायिक कृषि खेतितर्फ किसानलाई आकर्षित गर्न आधुनिक कृषि प्रणालीलाई अंगाल्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि स्वर्गीय सिंहले संवैधानिक नैतिक र अहिंसक जागरणबाट नागरिकमा चेतना पु-याएको बताइन् । स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी हुन् ।
अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री डाक्टर डिम्पल कुमारी झाले आफ्नो सपना साकार भएको बताएकी छिन् । कार्यक्रममा पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं. १ का संघिय सांसद अनिल झाले अस्पताल बनाएर आफूले राजनीति नगर्ने बताए । अस्पताल ३०० शैयाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्