Logo

भक्तपुरमा बिस्केट जात्राको रौनक

भक्तपुर-नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ । स्थानीय भाषामा बिस्का पनि भनिने यो जात्रामा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण यो जात्रा नराम्ररी प्रभावित बनेको थियो ।
प्यागोडा शैलीमा बनाइएको तीनतले काठै काठको करिब ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिरबाट डोरीले तानेसँगै जात्रा सुरु भएको हो ।
लिच्छविकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि परम्परागत रूपमा तान्त्रिक विधिअनुसार भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ ।


अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उनले बताए । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।
परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।
जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् ।

प्रतिक्रिया दिनुहोस्