नेपाली शरणार्थी समस्या र समाधान «

नेपाली शरणार्थी समस्या र समाधान

भुटानसँग शरणार्थी फिर्तीका लागि पहल गर्दागर्दै सबै भुटानी दाजुभाइ भुटान फर्कनुभन्दा तेस्रो देशमा आफ्नो भविष्यलाई उज्ज्वल बनाउन लागिरहेका छन् । पछिल्लो पटक सम्पन एनआरएनएको ८ औं सम्मेलनमा विभिन्न देशबाट आएका प्रतिनिधिसँगको कुराकानीमा पनि लगभग सबैजसो नेपालीको उपस्थिति भएको देशमा बिनाभिसा नेपालीहरूको राम्रै जमात रहेको कुरा थाहा भएको थियो । आउने प्रतिनिधिमध्ये कति त गर्वका साथ मैले यति वर्षमा रेसिडेन्ट कार्ड पाएँ, खासै खर्च भएन, कार्ड लिने यसरी हो भनेर अरूलाई सुनाउँदै थिए । आजको दिनसम्म के–कति नेपाली विदेशमा कस्तो हैसियतमा बसिरहेका छन् भन्ने डेटा कहीं कतै रहेको पाइँदैन । नेपाल सरकारले पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मात्र रेकेर्ड राखेको देखिन्छ । पर्यटक भिसामा जाने नेपालीका बारेमा कति कुन देशमा गए र कति फर्केर आए भन्ने रेकर्ड कहीँकतै देखिँदैन । अझ भारत हुँदै जानेको बारेमा त हामी अनभिज्ञ नै छौं । हामीले अनुमान गरेअनुसार नेपाल छाडेर बिदेसिने नेपालीको संख्या अन्दाजी ७० लाखभन्दा बढी हुनुपर्छ । हरेक वर्ष अन्दाजको भरमा थप्ने काम मात्र भइरहेको छ । आजसम्म विदेशमा के–कति नेपाली के–कस्तो हैसियतमा बसिरहेका छन् भन्ने कहीँकतै नरहेकाले विदेश बस्ने नेपालीको भिसाको हैसियतबारेमा सरकारी निकाय मौन मात्र होइन, अनभिज्ञ रहेको छ । हाम्रो देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने रेमिट्यान्स गलत बाटोबाट पठाउने सबैभन्दा ठूलो नेपाली शरणार्थीको जमात हो भन्ने मानिन्छ । उनीहरू के–कसरी विदेशी भूमिमा बसिरहेका छन् र तिनीहरूका के–कस्ता समस्या छन् भनेर कहीँकतैबाट खोजी भएको पाइँदैन । सँगसँगै यसरी बिनाभिसा र बिनाहैसियत बस्ने नेपालीले सम्बन्धित देशमा पाउने तलब, सेवा र सुविधामा पनि भेदभाव भइरहेको छ, जसले गर्दा कति देशहरूमा नेपाली श्रमिकले आफ्नो श्रमको उचित मूल्य नपाएको अवस्था रहेको छ । यसले गर्दा श्रमिकहरूलाई मात्र होइन, राष्ट्रले नै घाटा बेहोर्नुपरिरहेको छ । हामीले रेमिट्यान्सलाई नै राष्ट्रको ठूलो आम्दानीको स्रोतका रूपमा राखिराख्ने हो भने यो समस्या समाधानको छिटै पहल गर्नु जरुरी छ । यहाँ मैले उठाउन खोजेको विषय के यसरी बस्ने नेपालीका कारण नेपाल र नेपालीको छविमा पार्ने नकारात्मक असरका विषयमा सोच्ने बेला आएको हो त ? के र किन नेपाली शरणार्थीको संख्या बढिरहेको छ ? यो विषयमा कुन निकायले कसरी कस्तो कदम चाल्नुपर्ने हो, त्यो विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । एनआरएनले पनि पछिल्लो समय नेपाली शरणार्थीहरूलाई सम्बन्धित देशको भोट बैंकका रूपमा मात्र प्रयोग गर्ने गरेको छ । यिनीहरू नेपाल आउन नसक्ने हुनाले यिनीहरूलाई एनआरएनको कुनै पनि कार्यसमितिमा समेटन नसकिने हुनाले यिनीहरूको आवाज कहिले पनि एनआरएनको माथिल्लो निकायसम्म पुग्न नसकेको अवस्था रहेको छ । पछिल्लो समय नेपाली शरणार्थीका कारणले गर्दा विभिन्न देशले नेपाल र नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आइरहेको छ । म आफू नै जापानमा बस्ने र जापानीहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ । अहिले जापानमा शरणार्थी भिसा आवेदन दिने नेपालीको संख्या दोस्रो नम्बरमा रहेको छ, जसका कारणले जापान सरकारले नेपालीलाई भिसा दिने, त्यहाँ बसिरहेका नेपालीको भिसा थप्ने प्रक्रियामा कडाइ गरिरहेको छ । साथै, बेलाबेलामा अध्यागमनले फर्काउने काम पनि गरिरहेको छ । सबैभन्दा ठूलो समस्या जापानीहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको छ । सगरमाथा र बुद्धको देशका मान्छे भनेर सम्मान गर्ने जापाीनहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनले अवश्य पनि नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धमा पनि बिस्तारै असर पार्ने देखिन्छ । साथै, जापानमा राम्रो हैसियतमा बसिरहेका नेपालीहरूलाई पनि असर गर्ने देखिन्छ । जापान त यौटा उदाहरण मात्र हो । त्योभन्दा बढी शरणार्थीका रूपमा युरोप र अमेरिकामा नेपालीहरू रहेको कुरा सुन्नमा आउँछ । अमेरिका र युरोपमा त के–कति नेपाली छन् भन्ने कहीँकतै केही रेकर्ड नभएको अवस्था छ । हामीसँग कुन भिसामा कति जना युरोप र अमेरिका गए भन्ने रेकर्ड कहीँकतै रहेको देखिँदैन । हामीकहाँ हाम्रो आफ्नै विमानस्थल प्रयोग नगरी भारतको चोरबाटो गरी बिदेसिनेको संख्याका बारेमा अझै के–कति बिदेसिए भन्ने कुरामा बहस हुन बाँकी नै छ । हामीले हाम्रा युवापुस्तालाई विदेश पठाउने र तिनीहरूबाट रेमिट्यान्स भिœयाउनेबारेमा मात्र बढी सोचिरहेको अवस्था छ । हामी देशको नीति निर्माण गर्दा नै रेमिट्यान्सलाई मुख्य आम्दानीका रूपमा लिन्छौं, तर त्यो रेमिट्यान्स पठाउनेहरू के–कसरी कस्तो हैसितमा बसिरहेका छन् भन्नेबारेमा राज्यले नै गम्भीर भएर सोचेको देखिँदैन । कुन निकायले सोच्ने हो, त्यो विषयमा गम्भीर भएर निकाय तोक्नु जरुरी छ । यो विषयमा गम्भीर भएर नसोच्ने हो भने यो समस्याले भोलि धेरै देशले नेपाललाई हेर्ने दृष्टिकोणमा मात्रै होइन, कूटनीतिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनावपछि हामीले आशा गरेअनुरूप विकासको सम्भावना देखियो भने हामी नेपालीलाई विदेश जाने बाध्यता हट्नेछ र हाम्रो हैसियतमा पनि परिवर्तन आउला । हेर्दा सामान्य लागे पनि यो विषय गम्भीर र चुनौतीपूर्ण रहेको छ । यो समस्यासँगै बढ्दै गरेका बिनाभिसा बस्ने नेपालीहरूले रेमिट्यान्सबाट पठाउनुपर्ने रकम अवैधानिक तरिकाले पठाउँदा पनि सरकारले ठूलो नोक्सानी बेहोर्नुपरिरहेको छ । साथै, विदेशमा गएर दुःख गरेर कमाएको पैसा हुन्डीबाट पठाउँदा धेरै नेपाली ठगिइरहेको अवस्था पनि छ । यो समस्याको समाधानका लागि सबैभन्दा ठूलो चुनौती भनेको टुरिस्ट भिसामा जाने नेपालीहरूको डाटा राख्नुपर्छ । कोको कुन देशमा गए अनि तिनीहरू फर्के कि फर्केनन् भन्ने रेकर्ड राख्नुपर्छ । साथै, हामीले टुरिस्ट भिसामा विदेश जाने र लानेहरूलाई जाँदा र लग्दा हुने बेफाइदा र दुई देशबीचको सम्बन्धमा पर्ने असरका बारेमा बुझाउनुपर्ने देखिन्छ । हामी नेपालीहरूको सधैं हाम्रो पासपोर्टको कलरलाई गाली गरिरहन्छांै । हाम्रो जस्तो हरियो पासपोर्ट दिने धेरै देश छन्, जो सम्मानका साथ विभिन्न देशमा निर्धक्कसँग घुमफिर गरिरहेका छन् । तर, हामीकहाँ अग्रज र बिनाभिसा बसेका नेपालीका कारण थाइल्यान्ड जान खोज्दा पनि जाने–आउने खर्च र ६ महिनाको बंैक स्टेटमेन्ट देखाउनुपर्छ, जबकि थाइल्याडको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै विदेशी पर्यटक हुन् । अब यो विषयमा एनआरएनए र नेपाल सरकारबीच कुनै संयन्त्र बनाई विदेशमा के–कति नेपालीहरू कुन हैसियतमा बसिरहेका छन् त्यसको विस्तृत अध्ययन गरी यो समस्यालाई समाधानको बाटोमा लानु जरुरी छ । हामी सधैं पासपोर्टको कलर र भिसा नदिने राजदूतावासलाई गाली गर्ने गर्छौंै । तपाईं–हामी भिजिट भिसामा विदेश गएर बस्नेहरूले दलालका मीठा–मीठा कुरामा फसेर विदेशमा गएर दुःख पाउने कि नपाउने भनेर सोच्ने बेला आएको छ ।

सुरेश गिरी

प्रतिक्रिया दिनुहोस्