भेरीगंगामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेतको भेरीगंगा नगरपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने पहिलो स्थानीय तह हो ।
भौगोलिक रूपमा विकट रहेको भेरीगंगा नगरपालिकाभित्रका वडामा तत्काल उद्धार टोली पठाउन आवश्यक सामग्रीसहित केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको लेखपराजुल भू–क्षय हुने संवेदनशील वडा हो । एक वडालाई मात्रै लक्षित गरेर नभई समग्र नगरपालिकाका वडामा तत्काल उद्धार टोली पठाउन सकियोस् भन्ने उद्देश्यले केन्द्रको स्थापना गरेको कार्यालयले जनाएको छ । केन्द्रमा उद्धारका सम्पूर्ण सामग्रीसहित विस्थापित परिवारका लागि आवश्यक अन्य सामग्री राखिएको छ । नगरपालिका क्षेत्रका भेरीनदी र साना खोलाका कारण बाढीपहिरो बढी हुने खतरा भएकाले उद्धार सामाग्रीसहितको केन्द्र स्थापना गरेको नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जानकारी दिए । नगरपालिकाका लेक तथा फाँट झिगुनी, दह, घारीवन, ठूलो खाली, सानो नाच्ने, कैनपानी, सामाखोरीया, नमुना टोल, मसिना पटारेलगायतका स्थान जोखिमयुक्त तथा प्रभावित क्षेत्र हुन् ।
केन्द्रमा स्टेचर, त्रिपाल, जुत्ता, कपडा, २० वटा लाइफ ज्याकेट, बेल्चा, घैंटी, माइक, फस्र्ट एड किट, आगो नियन्त्रण यन्त्र, डोरीलगायतका अत्यावश्यक सामग्री जर्मन सरकारसँगको साझेदारीमा नगरपालिकाले स्थापना गरेको हो । प्रकोपका घटना भएमा तत्काल कुनै पनि स्थानमा राहत लिएर उद्धार गर्न सहज हुने अपेक्षा खरालको छ । भेरीगंगाले विगत पाँच वर्षमा बाढीपहिरो, हवाहुरी र आगलागीजस्ता घटनाका कारण करोडौं धनजनको क्षति बेहोर्नु परेको छ । चालू आव ०७५-७६ का लागि नगरपालिकाले विपद व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजनसमेत गरेको छ । नगरपालिकाले सहरी क्षेत्र अर्थात् सडक पुगेका स्थानमा आगलागी भएमा तत्काल आगो निभाउनका लागि दमकलको पनि व्यवस्था गरिसकेको छ ।