Logo

अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप गर्न आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई अर्थतन्त्रमा सकारात्मक हस्तक्षेप गर्न आग्रह गरेको छ । आइतबार नेकपा एमालेका तीनजना पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै अर्थतन्त्र संकटोन्मुख भएका बेला अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गलत निर्णय लिएको आरोप पनि लगाए ।
अर्थतन्त्र सम्हाल्न नसकेका कारण अर्थमन्त्री फेर्नुपर्ने माग सत्ता गठबन्धन भित्रैबाट उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा सरकारले गभर्नरलाई कारबाही गरेको निष्कर्ष पनि उनीहरुको छ ।
वित्तीय अपचलनको मतियार हुन नपाएको र निहित स्वार्थ समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको रिस अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि पोखेको आरोप लगाउँदै गठबन्धन सरकार टिकाउन मुलुकको आर्थिक दुरावस्थालाक्ष्ई बेवास्ता गरेको पनि उनीहरुले आरोप लगाए । स्मरण छ, गभर्नर अधिकारीलाई अघिल्लो सरकारले नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक एक स्वायत्त निकाय हो ।
पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीको कारवाही अविलम्ब सच्याउन आग्रह गर्दै यो व्यक्तिमाथि नभई प्रणालीमाथिको हस्तक्षेप भएको बताए । उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेर स्वायत्त निकायमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको पनि बताए । सरकारको सार्थक हस्तक्षेप नभएमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने चेतावनी पनि उनले दिए । तर, सार्थक हस्तक्षेप भनेको के हो उनले अथ्र्याएनन् ।
यस्तै, एमालेका अर्का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समय आउनै लाग्दा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो त्रुटि भएको बताए । उनले अर्थमन्त्रीको कमजोरी लुकाउनकै लागि गभर्नरमाथि छानबिन सुरु गरिएको आरोप लगाउँदै अर्थमन्त्रीले पत्र पठाएर राष्ट्र बैंकलाई खाता फुकुवा गर भन्नु अपराध गरेको जिकिर पनि गरे । यस्तै, उनले सरकारले नेपालमा आवश्यक नै नभएका वस्तुहरू अत्यधिक आयात गर्न अनुमति दिएर अर्थतन्त्र बिगारेको आरोप पनि लगाए ।
पत्रकार सम्मेलनमा अर्थमन्त्रीले एमालेले आफ्नो नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई वर्तमान सरकारले आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दूराशय राखेको आरोप पनि लगाए ।
अर्थतन्त्र चालू आवको सात महिनामा नै कसरी बिग्रियो भन्ने प्रश्नको कुनै ठोस उत्तर दिन नसके पनि पूर्व अर्थमन्त्रीत्रयले वर्तमान अर्थमन्त्रीले अर्थतन्त्रलाई बिगारेको आरोप लगाए ।
यस्तै, राष्ट्र बैंकबाटै आफ्नो जागिरे जीवन सुरु गरेर राजनीतिमा छिरेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि राजनीतिक रूपमा अर्थमन्त्रीलाई असक्षम भएको आरोप लगाए । वास्तवमा अर्थतन्त्र कोरोना कहरबाटै सुस्ताउन थालेको थियो, जतिबेला डा. खतिवडा अर्थमन्त्री थिए ।
यसैबीच, मुख्यसचिव शंकरदास बैरागीले भने मुलुकको अर्थतन्त्र बाहिर आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभा एवं चेम्बर दिवस २०७८ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव बैरागीले अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुने दाबी पनि गरे । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्र्याउने कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्