Logo

अर्थतन्त्र संकटोन्मुख

अर्थतन्त्र संकटोन्मुख, गभर्नरमाथि प्रहार

नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि सरकारले गरेको ठाडो हस्तक्षेपले अर्थतन्त्र थप संकटतर्फ उन्मुख हुने चिन्ता अर्थविद्हरुले व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै अर्थविद् तथा पूर्वगभर्नरले पनि सरकारको कदम गलत भएको बताएका छन् । सरकारले राजनीतिक पूर्वाग्रह राखेर अधिकारीमाथि कारबाही गरेको उनीहरुको आरोप छ ।
एकातर्फ अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदै जानुु, अर्कोतर्फ राष्ट्र बैंक र अर्थ मन्त्रालयको बीचमा सम्बन्ध बिग्रिदैं गएको समयमा यस्तो निर्णय आउनुले अर्थतन्त्रलाई दुर्घटनातर्फ लगेको अर्थविद्हरु बताउँछन् । देशको आर्थिक अवस्था बिग्रिदैं गएको समयमा अर्थमन्त्रीले प्रणालीमाथि विश्वास नगर्दा यस्तो अवस्था सिर्जना भएको जानकारहरुको भनाइ छ ।
सरकारको यो कदमले राष्ट्र बैंकले बडो मुस्किलले प्राप्त गरेको स्वायत्ततामा ठाडो प्रहार गरेको पूर्वगभर्नर तिलक रावल बताउँछन् । अर्थमन्त्री र गभर्नरको बीचमा विवाद चलिरहेको समयमा भएको यस्तो निर्णयले आम जनतामा पनि गलत सन्देश जाने उनको तर्क छ । “कुनै व्यक्तिको नाममा अमेरिकाबाट पैसा आएको र अमेरिकी संस्था फिनसेनले त्यो पैसा फिर्ता देऊ भनेको समयमा अर्थ मन्त्रालयले भुक्तानी दिनु भन्ने अनि राष्ट्र बैंक त्यसमा अड्ने जस्तो अवस्था भएको समयमा सरकारको यस्तो कदमको गलत सन्देश जान्छ,” रावलले भने ।
देशको आर्थिक अवस्था बिग्रिँदै गएको समयमा सबै निकाय एकजुट भएर लाग्नुपर्नेमा गभर्नरलाई नै निलम्बन गर्नुले आर्थिक अवस्था झनै नकारात्मक भएर जाने उनको भनाइ छ । “राष्ट्र बैंकले अहिलेको संकटको अवस्थामा केही नभए पनि सरकारलाई केही सल्लाह दिइरहेको, लगानीयोग्य तरलताको चरम अभाव भइरहेको समयमा पनि बैंकहरुलाई विभिन्न औजार प्रयोग गरेर तरलता प्रवाह गर्ने काम गरेको तथा आयात नियन्त्रणमा समेत विभिन्न कदम चालिरहेको थियो । यस्तो समयमा राष्ट्र बैंकको नेतृत्वलाई कारबाही गर्नुले अर्थतन्त्रलाई थप संकटतर्फ धकेलेको छ,” उनले भने ।
आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ जस्तो महामारीको समयमा बजेटमा केही सहायताका कार्यक्रम नआउँदा समेत राष्ट्र बैंकले ‘स्टिमुलस प्याकेज’ ल्याएर अर्थतन्त्रलाई जीवित राखेको उनको भनाइ छ । रावललाई पनि त्तकालीन सरकारले गभर्नरबाट निलम्बन गरेको थियो । पछि उनी सर्वोच्च अदालतबाट मुद्दा जितेर केन्द्रीय बैंक फर्केका थिए ।
सरकारले आफ्नो असक्षमतालाई ढाकछोप गर्न गभर्नरलाई कारबाही गरेको भन्दै अर्थविद् डा. डिल्लीराज खनालले यसले अर्थतन्त्रका समस्यालाई झनै उजागर गरेको बताए । राष्ट्र बैंकका कतिपय कदमहरुसँग आफू पनि असहमत रहेको भए पनि पूर्वाग्रही ढंगले गभर्नरमाथि कारबाही गर्नु निकै गलत भएको उनको तर्क छ । यसले अर्थतन्त्रमा थप संकट पैदा गर्ने उनी बताउँछन् । “बैंकहरुले बढी कर्जा प्रवाह गर्दा राष्ट्र बैंकले गरेको उपेक्षादेखि कतिपय एकलौटी निर्णयहरुसँग म सहमत थिइन । तर, राजनीतिक पूर्वाग्रह राखेर जुन कदम चालियो त्यसले आम मानिसहरुको अर्थतन्त्रप्रतिको विश्वास झनै घटाउने र यसै कारणले अर्थतन्त्रमा थप संकट आउन सक्ने अवस्था सिर्जना भएको छ,” खनालले भने ।
त्यस्तै, वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी पनि यसले नजिर राम्रो नबस्ने बताउँछन् । यसले अर्थतन्त्र गिजोल्नुका साथै मौद्रिक नीति र वित्तिय नीतिको बीचमा समायोजन गर्ने कुरामा अवरोध पुग्ने उनको तर्क छ । अर्थमन्त्रीमा नियुक्त भएसँगै जनार्दन शर्मा र गभर्नर अधिकारीबीच विवाद बढ्दै गएको थियो । राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई असहयोग गर्दै आफूखुसी निर्णय लिने गरेको आरोप अर्थमन्त्री शर्माले लगाइरहेका थिए भने गभर्नर अधिकारीले अर्थतन्त्र खतरा उन्मुख भइरहेको समयमा अर्थ मन्त्रालयले कुनै कदम नचालेको भन्दै रोकथामका लागि विभिन्न निर्णय लिँदै आएका थिए । त्यसमाथि केही दिनअघि पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा आएको रकम राष्ट्र बैंकले रोकेको भन्दै सो विषयमा विवाद बाहिरिएको थियो ।
सरकारको निलम्बनमा पर्ने गभर्नरमा डा. तिलकबहादुर रावल, विजयनाथ भट्टराई र हालका महाप्रसाद अधिकारी हुन् । रावल र भट्टराई राष्ट्र बैंकमा आर्थिक अनियमितता गरेको भन्दै निलम्बनमा परेका थिए भने हालका गभर्नर अधिकारी सरकारलाई साथ नदिएको भन्दै निलम्बनमा परेका हुन् ।
सरकारले शुक्रबार गभर्नर अधिकारीलाई निलम्बन गरेर कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ । आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गभर्नरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न खडा भएको भन्दै गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । आरोपबारे छानबिन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको हो । नेपाल राष्ट्र बैंक ऐनअनुसार समिति गठन भएपछि गभर्नर स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्