देवदहलाई बुद्ध सर्किटमा जोड्नुपर्छ : दाहाल «

देवदहलाई बुद्ध सर्किटमा जोड्नुपर्छ : दाहाल

‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव रुपन्देहीको देवदहमा सुरु भएको छ । उद्योग व्यापार संगठन देवदहको आयोजनामा सञ्चालित मेलाको पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरे ।
मेला उद्घाटन गर्दै दाहालले देवदह बुद्धको मावली थलो एवं लुम्बिनीसँग जोडिएको ऐतिहासिक स्थल भएकाले यो ठाउँ राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेकाले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको औंल्याए । देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढेकाले विश्वविद्यालय स्थापनासँगै यहाँको पर्यटन र अन्य पूर्वाधार विकासले गति लिने दाहालले बताए । लुम्बिनी विश्वभरकै बौद्धमार्गीहरुका लागि धार्मिक पर्यटनको केन्द्र बन्दै गएको उल्लेख गर्दै दाहालले देवदहसहित रामग्राम, तिलौराकोट र बुद्धसँग सम्बन्धित भारतका ठाउँलाई जोडेर बृहत् बुद्ध सर्किट बनाई विदेशी पर्यटकलाई नेपालमा तीन दिन र समग्र बुद्ध सर्किटमा एक साता भ्रमण गराउन सकिने बताए ।
चीनको ल्हासादेखि लुम्बिनीसम्म रेल मार्ग बनाउने अवधारण आफू प्रधानमन्त्री भएका बेला अघि सारेको स्मरण गर्दै उनले अब त्यो साकार हुने दिशामा अघि बढेको बताए । राजनीतिक अराजकताको लामो यात्रा पार गरेर अब स्थायित्व र समृद्धिको दिशामा देश अघि बढेको उल्लेख गर्दै दाहालले जनताले वाम गठबन्धनलाई यसैका लागि बहुमत दिएको उनको भनाइ थियो ।
मेला आयोजक मूलसमिति संयोजक गोविन्द्र ठडराईले बुद्ध मावलीका रूपमा परिचित देवदहलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउन, स्थानीय उद्योगका उत्पादको बजारीकरण गर्न, उद्यमशीलताको विकास गर्न र देवदहको पर्यटन विकास गर्न मेला आयोजना गरिएको बताए । उनले धकधई–देवदह–गोठादी (पाल्पा) सडक र औद्योगिक कोरिडोर स्थापना एवं देवदहमा राष्ट्रियस्तरको खेल मैदानको खाँचो रहेको बताए ।
कार्यक्रममा एमाले उपमहासचिव एवं रुपन्देही–२ का सांसद विष्णु पौडेल, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, रुपन्देही–१ का सांसद छविलाल विश्वकर्मा, रुपन्देही–१ प्रदेशसभा सांसद डा. कृष्ण न्यौपाने, सांसद बलदेव शर्मा पोखरेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम पाठक, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष गणेश खाती, सचिव प्रशान्त गैरेलगायतले आ–आफ्ना भनाइ राखेका थिए । माघ २१ गतेसम्म चल्ने मेलामा २ सय ५० स्टल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्