Logo

स्थानीय तहलाई बलियो बनाउन जोड

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयतलाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताए । प्रमुख आयुक्त थपलियाले संघीयता बलियो र प्रभाकारी बनाउन नसके पुस्तक लेखर मात्रै नहुने बताए । संघीयतामा सार्वजनिक प्रशासनलाई प्रभावकारी कार्यान्वयनमा लानुपर्ने आवश्यकता रहेको उनले बताए ।
प्रमुख आयुक्त थपलियाले नेपाल संघिय संरचनामा गए पनि सार्वजनिक प्रशासन केन्द्र निर्देशित र केन्द्र नियन्त्रित शासन व्यवस्था रहेको बताए । उनले संघीयता भनेको संघीय सरकारको सार्वजनिक प्रशासन मात्रै नभएको स्पष्ट पारे ।
त्यस्तै महालेखा परीक्षक टंकमणि शर्माले संघीयतामा जाँदा अधिकांश स्थानमा अधिकार राजनीतिक नेताहरुले लिने गरेको बताए । उनले संघीयता कार्यान्वयन गर्ने सिलसिलामा अतिव्यापी नक्कल गर्ने काम पनि भइरहेको बताए । महालेखा परीक्षक शर्माले नेपालमा ७० प्रतिशत कर्मचारीहरु काम नगर्ने कर्मचारीहरु रहेको अध्ययनले निस्कर्ष निकालेको भन्दै यसमा सरकारले गम्भीर हुनुपर्ने बेला आएको बताए ।
त्यस्तै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले कुनै पनि राजनीतिक दल संघीयताप्रति समर्पित नरहेको आरोप लगाए । उनले देश संघीयतामा गयो भन्ने कुरा नारामा मात्रै सिमित भएको र अझै पनि राजनीतिक दलका नेताहरुको मानसिकता केन्द्रिकृत रहेको बताए । डा. कोइरालाले व्यवस्था फेरिएपनि प्रशासकीय संरचनामा हुनुपर्ने परिवर्तन हुन नसकेको बताए । उनले संघीयतामा गयो भनेर बोर्ड फेरिनुबाहेक कार्यालयहरुमा प्रजातन्त्रमा कसरी जनतासमक्ष लैजाने भन्ने चिन्ता र चुनौति कुनै पनि राजनीतिक दलहरुमा नरहेको जिकिर गरे । डा. कोइरालाले संघीयताको कुरा राजनीतिक नारमा मात्रै सिमित भएको आरोपसमेत लगाए । पूर्व मुख्यसचिव कोइरालाले सबै क्षेत्रमा सुसंस्कृत समाज निर्माण गर्ने हो भने सबैभन्दा पहिला शासन व्यवस्थामा सुधार गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्