सडक सञ्जालमा जोडिँदै सुदूरपश्चिम र कर्णाली प्रदेश «

सडक सञ्जालमा जोडिँदै सुदूरपश्चिम र कर्णाली प्रदेश

धनगढी-सुदूरपश्चिम र कर्णाली प्रदेश अब छोटो दूरीको सडक सञ्जालमा जोडिने भएको छ । कैलालीको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणकार्य सुरु भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेश छोटो दूरीको सडक सञ्जालमा जोडिने भएको हो ।
दशकौंदेखि साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको परम्परागत चिसापानी–कुइने–सुर्खेत बाटो सडक सञ्जालसँग जोडिने भएको हो । कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले उक्त बाटोलाई पूर्वपश्चिम राजमार्गको चिसापानीसम्म सडक सन्जालसँग जोड्ने भएको हो । सडक सञ्जालसँग जोडिएसँगै यो बाटो सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने छोटो दूरीको बाटो हुनेछ ।
यो पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउने छन् । ती जिल्लावासीले पूर्वपश्चिम राजमार्गसम्म आउन हाल सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरियाको लामो तथा घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणपछि सुर्खेतको बड्डिचौर हुँदै कोहलपुर–चिसापानीसम्मको झण्डै दुई सय किमि सडक यात्रा ५२ किमिमा छोटिनेछ । सुर्खेतको बड्डिचौर हुँदै कुइनेबाट ५२ किमिको यात्रामै पूर्वपश्चिम राजमार्गको चिसापानी पुगिने छ ।
कुइनेस्थित कर्णाली नदीमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माणको काम ढिलो गरी सुरु भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका साइट इन्चार्ज दिनेशकुमार श्रेष्ठले २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माणको काम सुरु भएको बताए । “नदीले बर्सेनि धार परिवर्तन गर्ने गरेका कारण डिजाइन स्वीकृत गर्नमा ढिलाइ भएको हुनसक्छ,” श्रेष्ठले भने, “भौगोलिक अवस्थितिका कारण पनि केही ढिलाइ भएको हो ।” यसै आवको वर्षायामअघि पुलका दुईवटा पिल्लर तयार भइसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ । थप दुईवटा पिल्लर पुलको दुवैतर्फ निर्माण गरिनेछ ।
पुल निर्माणको काम सुरु भएसँगै त्यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । स्थानीयले दशकौंदेखि कुइनेस्थित कर्णाली नदीमा पुल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ का स्थानीय लक्ष्मण शाहीले ढिलै भए पनि राम्रो कामको सुरुवात भएको बताए । शाहीले यो पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो दूरीमा पर्ने नाकाको रूपमा जोड्ने बताए । “पुल बनेपछि टीकापुरस्थित सत्ती भन्सार कार्यालय भौगोलिक रूपमा निकै नजिक छ,” शाहीले भने, “भारतसँग सिधै सम्पर्क नभएको कर्णाली प्रदेश र यहाँका जनताका लागि राम्रो अवसरको कुरा हो ।”
कैलालीको मोहन्याल गाउँपालिका कुइनेका रूपक सुनारले पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशा व्यक्त गरे । सुनारले पुल र सडक निर्माणले आफूहरूको जीवनस्तरमा सुधार हुने बताए । “हाम्रो घर आँगनमै बाटो बनेपछि सुखका दिन आउनेछन् भन्ने पर्खाइमा हामी छौं,” सुनारले भने, “पुल निर्माणको काम चाँडो सम्पन्न हुनुपर्दछ । कैलालीको चिसापानीदेखि कुइनेसम्मको ११ किमि सडकको स्तरोन्नति भइरहेको छ । साँघुरो सडकलाई फराकिलो बनाउने काम भइरहेको छ । उता, सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्मको १९ किमि सडकमा साना सवारीसाधन सञ्चालनमा छन् । भेरी नदीमा पुल निर्माण सम्पन्न भएपछि अटोरिक्सा लगायतका साना सवारीसाधन बड्डिचौर हुँदै कुइनेसम्म पुग्न थालेका छन् । भेरी नदीमा निर्माण भएको पुल असोजदेखि सञ्चालनमा आएको थियो ।
यो पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न छोटो हुनेछ । उनीहरू कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर पुग्नु भन्दा छिटो कैलालीको चिसापानी पुग्नेछन् । पुल निर्माण सुरु भएसँगै स्थानीयले आफ्ना उत्पादनले बजार पाउने अपेक्षा गरेका छन् । पञ्चपुरी नगरपालिकाका गंगाप्रसाद सञ्ज्यालले भने, “बारीमा फलेको साग, तरकारी, दाल सहजै बेच्न सकिने भयो,” सञ्ज्यालले भने, “हामीसँग बजारसम्म पु-याउनु पर्ने धेरै उत्पादन छन् । जुन अहिले बारीमै सड्ने गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्