बूढीगण्डकी बनाउन १५ अर्ब संकलन
बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ । स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका बेला पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो ।
नेपाल आयल निगमले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी पुससम्म इन्धनबाट सो रकम संकलन गरेको हो । इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले अहिलेसम्म १५ अर्बभन्दा बढी रकम संकलन भएको निगमले जानकारी दिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधारण निर्माणका लागि आर्थिक वर्ष ०७३-७४ को १६ जेठदेखि भन्सार बिन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गरिँदै आएको थियो । सरकारले अघिल्लो वर्षको बजेटमार्फत घोषणा गरेअनुसार प्रत्येक महिना इन्धनबाट रकम संकलन गरिँदै आएको छ । इन्धन आयात गर्ने भन्सार नाकाबाटै रकम संकलन गरिँदै आएको छ ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाको पूर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ संकलन गरिएको जानकारी दिए । प्रत्येक महिनामा ७० देखि ८० करोडको हाराहारीमा इन्धनबाट कर संकलन गर्ने गरेको उनको भनाइ छ ।
निगमका अनुसार आर्थिक वर्ष ०७२-७३ मा १ अर्ब १६ करोड, ०७३-७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४-७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ । अहिलेसम्म १५ अर्बभन्दा धेरै रकम संकलन भएको निगमको भनाइ छ । भन्सार बिन्दुमा संकलन गरिने सो रकम सरकारको खातामा जम्मा हुने गरेको निगमले जनाएको छ ।