Logo

भूकम्पले भत्काएका १४६ विद्यालय भवन पुनर्निर्माण

खोटाङमा २०७२ सालको भूकम्पले भत्काएका १ सय ६२ विद्यालयका भवनमध्ये १ सय ४६ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा १ सय ३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १ सय ४६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा १६ वटा विद्यालय भवन पुनर्निर्माणको काम धमाधम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । जिल्लाभरका ९९ विद्यालयमा किशोरीले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन र फेर्न सक्नेगरी आधुनिक शौचालयसहितका भवन निर्माण भइरहेको इकाईका इन्जिनियर बुद्धन यादवले जानकारी दिए । निर्माणाधीन विद्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने अवस्थामा रहेको उनले बताए ।
जिल्लामा दुईकोठे, तीनकोठे र चारकोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । जिल्लामा हालसम्म ८७ शौचालय निर्माण भइसकेका र १२ शौचालय निर्माणको काम भइरहेको जनाइएको छ । पुनर्निर्माण प्राधिकरणकै बजेटमा जिल्लाका ५१ विद्यालयमा खानेपानीको योजनासमेत परेको छ ।
जिल्लाका ४६ विद्यालयमा खानेपानीको योजनाको काम सम्पन्न भएको छ भने पाँच विद्यालयमा निर्माण हुन बाँकी छ । बाँकी रहेका विद्यालयमा तत्काल खानेपानी योजना निर्माणको काम सुरु गर्न विद्यालय व्यवस्थापन समितिलाई शिक्षा विकास तथा समन्वय इकाईले आग्रह गरेको छ ।
प्राधिकरणले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि २३ लाख ९० हजार, शौचालय निर्माणका लागि १५ लाख र खानेपानी योजनाका लागि सात लाख ४० हजार बजेट उपलब्ध गराएको छ ।
विद्यालय भवन, शौचालय र खानेपानी योजनाको काम जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले हेर्दै आए पनि गत असारपछि उक्त कार्यालय खारेज भएसँगै अहिले शिक्षा विकास तथा समन्वय इकाईले उक्त जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्