विद्यालय भवन शिलान्यास
उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सीखम्पाले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सामुदायिक विकास परियोजनाका रूपमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत तीन करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।
श्री बाल मन्दिर माध्यमिक विद्यालय जिल्लाकै पुरानो विद्यालय हो । निर्माणकार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिने छ । विद्यालयमा हाल ११ सय विद्यार्थी अध्ययनरत छन् ।