निर्माणाधीन पुल भत्किँदा आठ घाइते «

निर्माणाधीन पुल भत्किँदा आठ घाइते

स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरस्थित कालिगण्डकी नदीमा चापाकोट र पाल्पाको रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा पुल निर्माणमा काम गर्दै आएका आठ जना घाइते भएका छन् ।
निर्माणाधीन पक्की पुल भत्किँदा घाइते हुनेहरूमा रौतहट घर भएका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा जिल्लाकै २८ वर्षीय जितेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
घाइते हुनेमा भारत बिहार घर बताउने २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखा जिल्लाका २३ वर्षीय सृजन परियार रहेको प्रहरीले जनाएको छ ।
चापाकोट नगरपालिका–८ मा निर्माणाधीन दामाचौर र रामपुर पाल्पाजोड्ने पक्कीपुल निर्माणको क्रममा क्रेनले फलामको बिममाथि उचालेर कामदारले बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक बिमसहित कामदार खस्दा उनीहरु घाइते भएका हुन् ।
घाइतेमध्ये बारा घर भएका २२ वर्षीय रामनिवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेको मिसन अस्पताल पाल्पामा उपचारार्थ भर्ना गरिएको छ ।
विगत १०वर्ष अघिदेखि निर्माणको काम थालिएको पुल इन्जिनियरिङ डिजाइनमा समस्या देखिएपछि करिब पाँच वर्षदेखि निर्माणकार्य रोकिएको थियो । सडक डिभिजन कार्यालय पाल्पाले पुलको डिजाइन परिवर्तन गरेपछि गत वर्षदेखि पुल निर्माणको कार्य पुनः थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्