चलचित्र के घर के डेराको निर्देशकमा दिपेन्द्र के खनाल
दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ ।
मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा निर्देशकको रुपमा दिपेन्द्र के खनालले काम गर्ने जानकारी दिइयो । यसअगि चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । उनले विभिन्न कारण देखाई निर्देशक भएर काम गर्न नसक्ने भने पछि निर्देशकको जिम्मा खनाललाई दिएको निर्माण पक्षले बताएको छ । चलचित्रलाई खनालले निर्देशन गर्ने भए पछि चलचित्रको कथा पटकथा दुवैमा परिवर्तन हुने भएको छ । काठमाडौंमा मात्र छायांकन हुने चलचित्रले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ । कार्यक्रममा निर्देशक खनालले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । पैँतीस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर चलचित्र बन्न लागेको हो । चलचित्रमा मुख्य कलाकारहरू भने यथावत् छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।