निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने «

निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् ।
सोमबार काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उहाँले बताउनुभयो । संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भए पनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनले बताइन् । उनले भने, ‘हामीले झन्डै तिन महिना लाएर एकदमै विज्ञ, विशेषज्ञ सबैलाई राखेर अध्ययन गराएर अनि लाइसेन्स दिने कार्यविधि, नियमावली सबै तयार पा-यौँ ।
अब हामी एउटा क्यबिनेटमा लगेर ल्याउँछौँ भन्ने बेलामा हामीले अर्थ र कानून पठाउने हाम्रो प्रावधान छ । प्रक्रिया छ । कानूनमा गएर हामीलाई दाँतमा ढुंगा लागेको छ कि कार्यविधि बनाएर दिन पाइन्न । ऐनमा छैन । कार्यविधि बनाएर पाइन्न भन्ने उहाँहरुको प्रतिक्रिया छ । त्यसो भएपछि कि अध्यादेश ल्याउनुप-यो । कि अर्को केही विधि खोज्नुप-यो भन्ने छ । मैले यहाँहरुलाई सुरु बाटै भनेको छु, म मेरो बचनमा पुरै प्रतिवद्ध छु । प-यो भने अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु । त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गर्छु । हामी त्यो दिनेछौँ ।’
मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतिय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पद्धार्थको विकल्पका रुपमा जलविद्युतलाई लिइनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘पेट्रोलियम पद्धार्थको बेलगाम मुल्यवृद्धि भइराखेको छ । संसारका कोही देशलाई त्यसको सायदै विकल्प होला, हामी नेपालीसित विकल्प छ । हामिसित जलस्रोत छ । जलविद्युत छ । त्यसैले यो परिस्थिति भनेको हाम्रो निम्ति अब जलविद्युतको उपभोग गर्ने क्षेत्रको विकास हो यो ।
दायराको विकास हो । अब हामी घरायसी प्रयोजन, कृषि, सिँचाइ, उद्योगले मागेजति दिने र अब यातायातका साधनलाई पनि विद्युतिय जब गर्छौ हामीले अरु हजार मेघावाट देशभित्रै खपत गर्न सक्ने स्थिति बनेको छ । यो पेट्रोलियम पद्धार्थको मुल्य बढ्नु निश्चय नै चुनौती हो । अप्ठ्यारो कुरा हो । तर हामी नेपालीलाई सकारात्मक योगदान आफ्नै देशको जलविद्युतको उपभोग गर्ने सबै क्षेत्रमा । त्यो नकारात्मक परिघटनाले दिएको सकारात्मक योगदान हो । हामी यसलाई बढावा दिने कुरा, यसलाई प्रश्रय दिने कुरा, राज्यले खरिद गरेर इन्डक्शन बाड्ने हो कि, व्यवसायीहरुले व्यापार गरेर गर्ने हो कि, या अरु कुनै निकायले हो अब हामी घरायसी प्रयोजनमा हामी विद्युतिय उपकरण प्रयोग गर्ने घरभान्सा देखिमा अघि बढ्ने कुरालाई सबैले साझा दायित्वको रुपमा लिनुपर्छ ।’
उनले आगामी आर्थिक वर्षको बजेटमा विद्युतिय उपकरणको प्रयोगलाई बढाउने दिने गरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्