Logo

नियामक निकायले बन्दरगाह चलाउनु गलत

नियमन गर्ने निकाय आफैंले सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिन नहुने विज्ञहरूले बताएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौँको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरेर आफैंले सञ्चालनमा ल्याएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि बन्दरगाह सञ्चालनमा आएको छ ।
व्यापारविज्ञ रविशंकर सैंजुले बन्दरगाह नियमन र सञ्चालन गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने बताए । “नियमन गर्ने निकाय आफैंले सञ्चालन गर्दा त्यसलाई कसले नियमन गर्ने ? बन्दरगाह सञ्चालनको जिम्मा छुट्टै निकायलाई दिनुपर्छ,” उनले भने । यसको जिम्मा निजी क्षेत्र वा अन्य कुनै सरकारी संस्थानलाई दिँदा प्रभावकारी हुने उनको भनाइ छ । छिमेकी मुलुक भारत, चीनसँगै तेस्रो मुलुकबाट आएका कन्टेनर सिधै चोभारमा आउने हुँदा यसले व्यापारलाई सहजीकरण गर्ने सैंजुको भनाइ छ ।
इन्टरमोडल यातायात विकास समितिका पूर्व कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले बन्दरगाह गठन आदेशमा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भनिएकाले समिति आफैंले जिम्मा लिनु उपयुक्त नहुने बताए । विभिन्न विवादका बीच बन्दरगाह निर्माण सम्पन्न भएर सञ्चालन आउनु सकारात्मक भए पनि उद्देश्यअनुसार अझै काम हुन नसकेको उनको भनाइ छ । निर्माणको ठेक्का सुरु भएको तीन वर्षमा काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ ।
विश्व बैंकको सहयोगमा तयार भएको बन्दरगाह १८ महिनामा सक्ने ठेक्का सम्झौता भए पनि तीन वर्षभित्रमा तयार भएर सञ्चालनमा आएको हो । २०७५ असार अन्तिममा १८ महिनामा सक्ने गरी निर्माणका लागि इन्टरमोडल यातायात विकास समितिले ठेक्का दिएको थियो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याएर औपचारिक रुपमा बन्दरगाह सञ्चालनमा आएको हो ।
तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका थिए । वीरगन्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।
चोभार बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । मालवस्तु आयात र निर्यातका लागि भन्सार, क्वारेन्टाइन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।
बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वदेशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ । यसले गर्दा आयात निर्यात दुवैलाई सहज गर्ने छ ।
काठमाडौं केन्द्रित व्यवसायीका लागि आयात निर्यातमा महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । बन्दरगाह सञ्चालनमा आउँदा ढुवानी, सीमा क्षेत्रको प्रक्रिया, क्लियरेन्स र अन्य प्रक्रियामा लाग्ने समय बचत हुनुका साथै लागत खर्च घटेर उपभोग्य वस्तु सस्तोसमेत हुने सरकारको भनाइ छ । मुलुकको सम्पूर्ण उपभोग्य वस्तुमध्ये झण्डै एक तिहाई काठमाडौं उपत्यकामा उपभोग हुने गर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने ढुवानी खर्च तथा खर्चिने समयलाई बचत गर्नुका साथै वैदेशिक व्यापारको ठूला समस्या समाधान गर्न यो बन्दरगाह निर्माण गरिएको कार्यकारी निर्देशक आशीष गजुरेलले जानकारी दिए ।
काठमाडौं–निजगढ दु्रत मार्ग, दक्षिणमा भारतसँग रेलमार्ग, उत्तरमा चीनको केरुङ रेलमार्ग, बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाह व्यापारिक गतिविधिका लागि उपयुक्त भएको गजुरेलको भनाइ छ । विश्व बैंकको १ अर्ब ६४ करोड ऋण सहयोगमा २२० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाह भित्र भन्सार जाँचपाँस कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकचाँज कक्ष सबै सुविधा एकै ठाउँमा रहेको गजुरेलले जानकारी दिए । छिमेकी मुलुक भारतबाट आउने सामान वीरगन्ज बाट सिधै चोभारमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्