Logo

बेलायतको टेंगोपेबाट ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरू

विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्रयाउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको ई–सेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेंगोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा टेंगोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै ई–सेवा मनी ट्रान्सफर मार्फत नेपालमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिनेछ ।
रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र ई–सेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिने भन्दै कम्पनीले टेंगोपेबाट पैसा पठाउँदा सुरूको ३ महिनासम्म कुनै शुल्क समेत नलाग्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
विदेशबाट टेंगोपेमार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । त्यस्तै, पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट सिइओ अजेस कोइराला र टेंगोपेको तर्फबाट निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका हुन् ।
टेंगोपे विश्वका ४० भन्दा बढी देशमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको, बेलायतको फाइन्यन्सिअल कन्डक्ट अथोरिटीद्वारा इजाजत प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायक हो। यसले सरल र सस्तो दरमा आफ्ना ग्राहकहरूलाई क्यास पिक अप, तत्काल खाता क्रेडिट, मोबाइल वालेट क्रेडिट लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्