डाक्टर उत्पादनदेखि पूर्वाधार विकासमा फड्को «

डाक्टर उत्पादनदेखि पूर्वाधार विकासमा फड्को

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपति डा. मंगल रावलले एक वर्षमा जुम्लामै विशेषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक, प्रशासनिक र भौतिक पूर्वाधार निर्माणले फड्को मारेको बताएका छन् ।
पत्रकार सम्मेलन आयोजना गरी उपकुलपति डा. रावलले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामै एमबीबीएस, बीएनएस, बी फार्मलगायतका शैक्षिक कार्यक्रमको सुरुवातदेखि पूर्वाधार निर्माणले गति लिएको दाबी गरे । उपकुलपतिको एकवर्षे प्रगति विरण प्रस्तुत गर्दै रजिस्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानले पछिल्लो एक वर्षमा महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन, अनुसन्धान निरन्रता, सेवा प्रवाह जोड सुशासन र भौतिक सरंचना निर्माणले गति लिएको उल्लेख गरे ।
जसमा शिक्षातर्फ एमबीबीएस, बीएनएस, बी फार्मलगायतका कार्यक्रम सुरु भएका छन् । एमबीबीएसको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभारम्भ गरिएको थियो भने एमडी, एमएस, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएचलगायतका कार्यक्रम सञ्चालनका लागि प्राज्ञिक ज्ञान आदानप्रदान गर्न देशका झण्डै एक दर्जन अस्पतालसँग सम्झौता गरिएको छ । एमडीजीपी, एमडी कार्यक्रमको निरन्तरता र हाडजोर्नी विषयमा स्नातकोत्तर तहको पढाइ सुरु भएको छ ।
त्यस्तै अनुसन्धानतर्फ २० वटा विभिन्न विषयमा अनुसन्धान भइरहेका छन् भने सेवातर्फ छालारोग, आँखा रोग, नाक कान, घाँटीरोग, बाल दन्तरोग, विशेषज्ञ सेवा सुरु भएको छ । नाक, काँन घाटीको शल्यक्रिया, हिस्टो प्याथोलोजी, पाठेघरको मुखको पूर्वक्यान्सरको उपचार सुरुवात भएको छ ।
२५ बेडको एचडीयू सेवा ५० बेडमा स्तरवृद्धि, ६ बेडको सघन उपचार, १८ बेडको भेन्टिलेटर र अस्पताललाई पूर्ण डिजिटलाइजेसन गर्न इलेक्ट्रोनिक मेडिकल रेर्कड प्रणाली जडान भएको छ । साथै कोभिड महामारीमा देशकै उत्कृष्ट सेवा प्रवाह प्रतिष्ठानले गरेको विवरणमा उल्लेख छ । कर्णालीको दुर्गम जिल्ला हुम्लामा एमडीजीपी विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भइरहेको छ ।
उपकुलपतिको एक वर्षे कार्यकालमा प्रतिष्ठानको व्यायभार घटाउन एउटा मात्र डिन राख्ने, काठमाडौंमा सम्पर्क कार्यालय सार्ने, सेवा प्रवाहमा सुधार ल्याउन उत्कृष्ट डाक्टर सम्मानको कुरामा सुधार आएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए ।
औषधि आपूर्ति, सेवा प्रवाह सञ्चार सहकार्य, दुर्गम जिल्लामा सेवा प्रवाहदेखि प्रतिष्ठानको मेडिकल कलेज छात्रावास, शैक्षिक प्रशासनिक भवन, तत्काल निर्माण गर्न जुटिरहेको उनको भनाइ छ ।

मेडिकल हबका रुपमा पूर्वाधार बन्दै
कर्णाली प्रतिष्ठान स्थापना भएको १० वर्षको अवधिमा हालसम्म विभिन्न नौवटा विशेषज्ञस्तरका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । तर पूर्वाधार अभावले शिक्षक कर्मचारी तथा चिकित्सकहरू भाडाकै घरमा बस्न बाध्य छन् । अहिले शैक्षिक तथा प्रशासनका ६ वटा भवन भाडाकै घरमा सञ्चालित छन् ।
पूर्वाधार अभावले प्रतिष्ठानको सेवा प्रवाह, अध्यायन, अनुसन्धानमा पारेको प्रभावलाई मध्यनजर गरी उपकुलपति डा. मंगल रावल, रजिष्टार नृपेन्द्र महत आइसकेपछि प्रतिष्ठानले पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।
जसअन्तर्गत गत फागुन २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ करोड लागतको शैक्षिक प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरेकी थिइन् । उक्त भवन दुई वर्षमा निर्माण सम्पन्न हुनेगरी रसुवा निर्माण कम्पन्नीसँंग सम्झौता भएको छ भने चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरमा मेडिकल हबकै रूपमा करिब दुई दर्जन बढी शैक्षिक प्रशासनिक तथा आवासका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्