‘फ्रेन्चाइज शो’ प्रसारणअघि पूर्वस्वीकृति अनिवार्य «

‘फ्रेन्चाइज शो’ प्रसारणअघि पूर्वस्वीकृति अनिवार्य

नेपाली टेलिभिजन च्यानलहरूमा अब विदेशी कार्यक्रम प्रसारण गर्नुअघि सरकारको पूर्वस्वीकृति अनिवार्य गरिएको छ । सरकारले हालै राष्ट्रिय प्रसारण नियमावली संशोधन गर्दै यो व्यवस्था गरेको हो । यसअघि विदेशी कार्यक्रम र विभिन्न नामका फ्रेञ्चाइज शो निर्वाध प्रसारण हुँदै आएकोमा अब भने पूर्वस्वीकृति अनिवार्य गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रसारण नियमावली २०५६ लाई एघारौं पटक गरिएको संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै हालै राजपत्रमा प्रकाशित भएको छ । जसको मूल नियमावलीमा नियम ५ (ग) थप गरेकोमा उल्लेख छ, ‘कसैले नेपालभित्रको अनुमति प्राप्त टेलिभिजनबाट कुनै विदेशी कार्यक्रम प्रसारण गर्न वा विदेशी कार्यक्रमको प्रसारण अधिकार लिई नेपाल भित्र प्रसारण गर्न चाहेमा मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को लागि स्वीकृति लिनु पर्ने व्यवस्था नियमावलीमा थप भएको मन्त्रालयका उपसचिव अनुप नेपालले जानकारी दिए ।
मन्त्रालयका अनुसार फ्रेन्चाइज सो प्रसारणपूर्व स्वीकृति लिनको लागि दस्तुर सहित नियमावलीमा तोकिएकै ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले यस्ता खाले कार्यक्रमहरूबाट राजस्व संकलन गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले दस्तुर भने एक हजार रुपैयाँमात्र तोकिएको जनाएको छ । यसरी अनुमतिका लागि निवेदन दिँदा प्रसारण गरिने प्रत्येक कार्यक्रमको लागि छुट्टाछुट्टै निवेदन दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
नेपालमा खासगरी रियालिटी शोहरूमा फ्रेन्चाइज लिने क्रम बढेको छ । नेपाल आइडल, द भ्वाइस अफ नेपाल, सारेगम लिटिल च्याम्प, द भ्वाइस किड्स, क्राइम पेट्रोललगायत फ्रेन्चाइज शो लोकप्रिय छन् ।
मन्त्रालयका अनुसार यसअघि पूर्व अनुमतिसम्बन्धी व्यवस्था हुँदा सञ्चालनमा आइसकेका फ्रेन्चाइज शोहरूले पनि अब नयाँ नियमअनुसार अर्को सिजनको प्रसारणअघि अनुमति लिनुपर्नेछ । ‘यो नियम प्रारम्भ हुँदाका बखत कुनै विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार लिई प्रसारण गर्दै आएका व्यक्ति वा संगठित संस्थाले यो नियम प्रारम्भ भएको मितिले तीन महिनाभित्र स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ,’ संशोधित नियमावलीमा भनिएको छ । मन्त्रालयले रितपूर्वक प्राप्त निवेदनमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा निवेदकलाई स्वीकृति दिन उपयुक्त देखिएमा विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकारको स्वीकृति दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्