विलासिताका वस्तु आयातमा थप कडाइ «

विलासिताका वस्तु आयातमा थप कडाइ

केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ ।
विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो ।
सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर केन्द्रीय बैंकले निर्देशन दिएको छलफलमा सहभागी एक बैंकरले बताए । छलफलमा सहभागी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार केन्द्रीय बैंकले अनौपचारिक छलफल गर्दै हाल अर्थतन्त्र ठूलो संकटमा भएकोले संकटको निवारण गर्न बैंकहरूको ठूलो भूमिका रहने बताएका थिए ।
‘हामी इनारको डिलमा छौं, यसमै हामफाल्ने कि यसबाट बच्ने भन्नेमा ध्यान दिनुपर्छ’ भन्दै राष्ट्र बैंकका अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई गाडी कर्जा रोक्न निर्देशन दिएको बताए । “बैठकमा राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुमा जाने कर्जा रोक्नु भनेको छ,” उनले भने ।
विदेशी मुद्राको सञ्चितिमा दबाब बढ्दै गएको बताउँदै केन्द्रीय बैंकले आयातीत वस्तुमा जाने गाडी आयातको प्रतितपत्र (एलसी) रोक्न निर्देशन दिएको बैंकका प्रमुख कार्यकारीहरूको बुझाइ छ । केन्द्रीय बैंकले यसअघि नै सुन, चाँदीलगायत विभिन्न वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।
“बैठकमा आयात कसरी रोक्न सकिन्छ भन्नेबारेमा छलफल भयो,” ती प्रमुख कार्यकारीले भने, “सकेसम्म शतप्रतिशत नगद मार्जिन नलिई कुनै पनि वस्तु आयातका लागि एलसी नखोल्न र खोल्नैपरे पनि अत्यावश्यकका लागिमात्रै खोल्न भन्नुभएको छ ।”
छलफलमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत सहभागी थिए भने बैंकरहरूका तर्फबाट बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायसहित अधिकांश बैंकका प्रमुख कार्यकारी उपस्थित थिए ।
हाल शोधानान्तर घाटा अत्यधिक बढेको तथा विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न केन्द्रीय बैकले रणनीति लिएको हुनसक्ने बैंकका प्रमुख कार्यकारीहरुको बुझाइ छ ।
बैठकमा बैंकहरूले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पु¥याएको र यसलाई सीमामा ल्याउनस पर्ने बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्