महोत्सवको ४० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा «

महोत्सवको ४० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा

गुल्मी– गुल्मीमा हुन लागेको चौथो गुल्मी महोत्सवबाट आम्दानीमध्ये ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । यही चैत २५ गतेदेखि ४ वैशाख २०७९ सम्म हुने चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ बाट कूल आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए । “महोत्सवमा भएको आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने छौं ।” अध्यक्ष पौडेलले भने, “यसअघिका महोत्सवमा पनि ४० प्रतिशत आम्दानी रकम सामाजिक तथा पर्यटकीय क्षेत्रमा लगानी गरेका थियौं ।”
प्रथम गुल्मी महोत्सबबाट जिल्लाको प्रवेशद्वार एवं धार्मिक स्थल रीडि क्षेत्रमा ४० हजार, ऐतिहासिक धार्मिक तपोवन रेसुङ्गामा ४० हजार, धुर्कोटमा रहेको विचित्र गुफामा ४० हजार, कुर्घाको मालिका मन्दिरमा ४० हजार, पुर्कोटको कङ्के देउरालीमा २० हजार, तम्घास फोहोरमैला व्यवस्थापनमा १ लाख र महेन्द्र माध्यमिक विद्यालयमा १ लाख ५० हजार लगानी गरिएको थियो ।
दोस्रो गुल्मी महोत्सवबाट रेसुङ्गा पोखरी क्षेत्रमा २२ धारा निर्माण, संघका शाखा कार्यालय मार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा शाखा कार्यालय बलेटक्सार, रिडी र वामीलाई १÷१ लाख, रक्त सञ्चार केन्द्र स्थापनाका लागी नेपाल रेडक्रस सोसाइटीलाई १ लाख ५० हजार, बौद्धिक अपाङ्ग केन्द्र गुल्मीको भवन निर्माणको लागि ५० हजार सहयोग प्रदान गरिएको वाणिज्य संघले जनाएको छ । त्यस्तै तम्घासस्थान मन्दिर र रेसुङ्गा धर्मशालामा ४० हजार, महेन्द्र माध्यिमक विद्यालयमा सोलार जडानमा ५० हजार आर्थिक सहयोग गरिएको थियो ।
तेस्रो गुल्मी महोत्सवबाट महेन्द्र माध्यमिक विद्यालयमा २ लाख, रेसुङ्गा पोखरी क्षेत्रदेखि यज्ञशालासम्म आवतजावत गर्न सहजका लागि रेलिङ्गसहितको सिँढी निर्माण कार्य, अक्सीजन प्लान्टको लागि भवन निर्माण समेत गरिएको थियो ।
महोत्सवमा कृषि प्रदर्शनी स्टल निःशुल्क, घरेलु उत्पादन प्रदर्शनी निःशुल्क र स्थानीय पुस्तक तथा पत्रिका प्रदर्शनी निःशुल्क रूपमा राख्न दिइनेछ । महोत्सव संचालनका लागि मूल समिति र विभिन्न उपसमिति बनाएर तयारी अन्तिम चरणमा पुगेको छ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास ः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका गुल्मीको सदरमुकाम तम्घास चिदिचौरमा १० दिनसम्म महोत्सव चल्ने उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा प्रसाद भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्