वीरगन्ज र मकवानपुर उद्योग वाणिज्य संघबीच सहकार्य हुने

वीरगन्ज उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघबीच व्यापार विस्तारमा आपसी समन्वय र सहकार्य हुने भएको छ ।
समकक्षी जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरी एक अर्का संघले आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का संघबीच साझा गर्ने र उक्त अवसर, सम्भावना र समस्यालाई सम्बद्ध संघहरूले आ–आफ्नो संस्थामार्फत एकीकृत रूपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागत रूपमा प्रभावकारी पहल गर्ने साझा अभिमत निर्माण गर्ने उद्देश्यले वीरगन्ज उद्योग वाणिज्य संघले मकवानपुर उवासंघसँग भगिनी सम्बन्ध स्थापना गरेको हो ।
वीरगन्ज उवासंघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता र मकवानपुर उवासंघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले स्मृति–पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा वीरगन्ज उवासंघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगन्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगन्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका बारे अवगत गराउने बताए ।
उनले केही दिनअघि विभिन्न मन्त्रालयका मन्त्री, सचिव, विभागका महानिर्देशकलगायत सम्बन्धित निकायसँग भेटघाटको क्रममा वीउवासंघबाट उठाइएको कर, राजस्व, भंसार, स्थानीय कर, पूर्वाधार विकास, औद्योगिक विकास, शान्ति सुरक्षालगायतका मुद्दालाई राष्ट्रियस्तरमा उजागर गरी सोको समाधानका लागि आपसी समन्वय एवं सहकार्यको आवश्यकता रहेको उद्योग वाणिज्य संघहरूको संयुक्त पहल एवं प्रयास हुनुपर्नेमा जोड दिए । मकवानपुर उवासंघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उद्योग, व्यापार, व्यवसायको साथै सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन, ह्याण्डी क्राफ्ट्सको विकास र प्रबद्र्धनको लागि सहकार्य गर्न जोड दिए । वीउवासंघबाट उठाइएका मुद्दाहरूमा साथ र सहयोग रहनुको साथै समाधानका लागि आपसी समन्वय एवं सहकार्य गर्ने बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, कार्यसमिति सदस्य अंकित खेतान, सुरेश रुगंटा, प्रमोद चौरसिया, रवीन्द्र बरनवाललगायतको उपस्थिति रहेको थियो ।