५ नम्बर प्रदेशको पहिलो प्रादेशिक महोत्सव नेपालगन्जमा सुरु

प्रदेश नम्बर ५ को पहिलो प्रादेशिक महोत्सव नेपालगन्जमा सुरु भएको छ । बिहीबार एक भव्य समारोहकाबीच सो महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।
सो अवसरमा बोल्दै उनले देश अब आर्थिक विकासको बाटोमा लम्किसकेको जनाउँदै अब सबैको ध्यान आर्थिक उन्नति र प्रगतिमा हुनुपर्ने बताए । उनले सानो समयमा धेरै विकास गर्नुपर्ने भएकाले अब सबैले मिलेर आर्थिक विकास र उन्नतितर्फ लाग्नुपर्नेमा जोड दिए । राजनीतिक आन्दोलन र लडाइँ अब अन्त्य भएको जनाउँदै उनले अब आर्थिक रूपमा देशलाई अगाडि बढाउने जिम्मेवारी सबै नेपालीको भएको कुरामा जोड दिए । निर्वाचनहरूपछि संविधान कार्यान्वयन भएको जनाउँदै उनले अब देशलाई आर्थिक रूपमा सवल बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक विकासका लागि धेरै सम्भावना भएको भए पनि विभिन्न कारणले विकास हुन नसकेको बताइन् । उनले निजी क्षेत्रले आर्थिक विकासका लागि धेरै प्रयास गरे पनि राज्य सञ्चालन गर्नेहरूको उदासीनताका कारण विकास हुन नसकेको प्रष्ट पारिन् । उद्योग र व्यवसायन फस्टाएसम्म सही रूपमा आर्थिक विकास हुननसक्ने उनको भनाइ थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले प्रदेश नम्बर ५ आर्थिक रूपमा धेरै सम्भावना बोकेको प्रदेश भएको जनाउँदै यो प्रदेशलाई औद्योगिक प्रदेश बनाउन सकिने बताएका छन् । संघीय संरचना कायम भएपछि नेपालगन्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गरिएको जनाउँदै महोत्सव आयोजक समितिका संयोजक वैश्यले महोत्सवबाट संकलित रकम बहुउद्देश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए ।
उनले महोत्सवमा २ सय ६० वटा व्यावसायिक स्टलका अलावा ५ कृषि, ४ जडीबुटी, १४ अटोमावाइल्स, २२ रेस्टुराँ र १६ विदेशी स्टलसहित कुल ३ सय २१ स्टल रहने जानकारी दिए । उनले पहिलो पटक महोत्सवमा १६ वटा विदेशी स्टलहरूसमेत राखिएको जनाउँदै यस पटक विदेशी व्यवसायी र लगानीकर्ताले समेत महोत्सवप्रति चासो लिएको बताए । महोत्सवबाट १ करोड बढी रकम बचत गर्ने लक्ष्य लिइएको जनाउँदै संघले सो रकम बहुउद्देश्यीय सभागृह निर्माणमा खर्च गरिने भएको छ ।