‘संघीयता सफल बनाउन सबै तहका सरकार मिल्नुपर्छ’ «

‘संघीयता सफल बनाउन सबै तहका सरकार मिल्नुपर्छ’

विराटनगर- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छने । उनले संघीय, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी हुन् ।
सहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय सहरी नीति तथा सहरी विकास ऐन तर्जुमासम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन् ।
उनले भनिन्, “अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन । सँगै मिलेर अघि बढ्नुपर्छ ।” मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब योजना छनोट वडा तहबाट हुनुपर्ने उनको भनाइ थियो । मन्त्रालयले संघीयता अनुसारको सहरी नीति परिमार्जन र सहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने दाबी गरिन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताए । ठूला सहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाइँसराईको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने बताइन् ।
उनले भन्नि, “विकास निर्माणका काम ठूला सहरमा मात्र केन्द्रित हुँदा बसाइँसराई बढेको छ । अब विकास र बजेट अविकसित ठाउँमा पु¥याउनुपर्छ । यी विषय सहरी नीति परिमार्जन र सहरी विकास ऐन बन्नुपर्छ ।”
सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीयतापछि सहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएको बताए । विभिन्न सुखसुविधा खोज्दै सहरमा बसाइँ सर्नेदर बढिरहेको बताउँदै उनले परिमार्जित सहरी नीति र सहरी विकास ऐनले यसलाई समेट्ने बताए ।
सचिव डा. सिंहले सहरी विकास नीति परिमार्जन र सहरी विकास ऐन नहुँदा तीनै तहका सरकारबीचको समन्वयमा समस्या सिर्जना भएकोे दाबी गरे । उनले भने, “सहरी नीति परिमार्जन नहुँदा तीनै तहका सरकारबीच समन्वयमा समस्या भयो । प्राकृतिक स्रोत साधन बाँडफाटमा समेत अन्योलता छ ।”
सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारीले मन्त्रालयले सातै प्रदेशमा सबैको रायसहित सहरी नीति परिमार्जन गरिने बताए । उनले परिमार्जित सहरी नीति र सहरी विकास ऐनमा सबैको अपनत्व हुने बताए ।
मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले सहरी विकास नीति परिमार्जनबाट स्पष्ट मार्ग निर्देशन गर्ने बताए । सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै श्रेष्ठले युटिलिटी करिडोर निर्माणले सहर व्यवस्थित बनाउन महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्