चार सम्झौतामा हस्ताक्षर «

चार सम्झौतामा हस्ताक्षर

कुर्था–जनकपुर–जयनगर रेल नियमित सञ्चालनमा आएको छ । ३४ किलोमिटर लामो रेल सेवा शनिबारदेखि सञ्चालनमा आएको हो । २०७७ असोजमा नेपाल आएको रेल विभिन्न प्राविधिक तयारी नपुग्दा सञ्चालनमा आउन सकेको थिएन ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । उल्घाटनलगत्तै जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको थियो ।
आइतबारबाट रेल नियमित सञ्चालनमा आउने रेल विभागका महाप्रबन्धक दीपक भट्टराईले बताए । बिहान र दिउँसो गरेर दुई पटक रेल सो रुटमा सञ्चालन हुने छ । अनलाइनबाट नै टिकट लिन मिल्ने सिस्टम विकास गरिएको छ । नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको जनरल क्लासमा ७० रुपैयाँ र एसी क्लासमा ३ सय ५० रुपैयाँ भाडादर कायम गरेको छ । एक स्टेसनदेखि अर्काे स्टेसनसम्म २० रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
पहिलो चरणमा भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३४ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । दोश्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म चाँडै रेल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजी अन्तर्गत दुई थान रेल करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग खरिद गरेको हो । दुवै रेलका पाँच वटा डिब्बा रहेका छन् ।
शनिबार दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि कुर्थाका लागि प्रस्थान गरेको रेललाई प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाले नेपाल भारतको झण्डा लिएर स्वागत गरेका थिए । कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर उद्घाटनको औपचारिक कार्यक्रममा सहभागि भइन् । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको दोस्रो दिन शनिबार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएका छन् ।
रेल्वेसबन्धी प्राविधिक सहयोग सम्झौताअनुसार नेपालमा दक्ष रेल्वे जनशक्तिको उत्पादन, विकास र सशक्तीकरणका लागि भारतले सघाउने भएको छ । रेल्वे इन्जिनियरहरुको क्षमता विकास गर्न तालिम, रेल्वे इन्जिनियरिङ पढिरहेकालाई छात्रवृत्तिलगायत विषय समेटेर समझदारीपत्रमा हस्ताक्षर भएका कारण नेपाली इन्जिनियरले भारतको रेल्वे प्रविधिको ज्ञान र सीपलाई सिक्ने अवसर पाउनेछन् भने नेपालका विश्वविद्यालयहरुलाई रेल्वेको पाठ्यक्रम विकासमा पनि सहयोग पुग्नेछ ।
साथै, नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी)बीच इन्धन कारोबार गर्ने सम्झौता पनि भएको छ । शनिबार आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक र आईओसीका प्रमुखबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौता भएको हो । यो सम्झौता पाँच वर्षका लागि रहने छ । यस्तै पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच विशेषज्ञ आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
भ्रमणमा नेपाल र भारतले ऊर्जा क्षेत्रमा सहकार्यका लागि शनिबार संयुक्त वक्तव्य पनि जारी गरेका छन् । बहुप्रतिक्षित पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन चाँडै टुंगो लगाउन दुवै देश तयार भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
संयुक्त वक्तव्यमार्फत प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी दुवैले नेपाल र भारतमा ऊर्जा क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालमा संयुक्त लगानीमा बन्ने जलविद्युत र नववीकरणीय ऊर्जा परियोजना निर्माणका लागि भारतले सहयोग गर्ने जनाइएको छ ।
यस्तै बीबीआईएन फ्रेमवर्कभित्र ऊर्जा सहकार्य सुदृढ गर्न पनि दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्