सार्वजनिक यातायातको भाडा १४ प्रतिशतसम्म वृद्धि गर्ने तयारी «

सार्वजनिक यातायातको भाडा १४ प्रतिशतसम्म वृद्धि गर्ने तयारी

सरकारले लामो दूरीको सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा करिब १० देखि १४ प्रतिशत भाडा समायोन गर्ने निर्णय भएको यातायात विभागले जनाएको छ ।
एक प्रदेशबाट अर्को प्रदेशका सञ्चालन हुने सार्वजनिक यात्रु तथा ढुवानी गर्ने सवारी साधनमा करिब १० देखि १४ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, “कुल भाडाको ३४ प्रतिशत हिस्सा इन्धनलाई लिएर अन्य १२ सुचकको अध्ययनको आधारमा बिहीबार मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन भएको छ ।”
आइतबार विभागले रुट अनुसार समायोजन भएको भाडाको सूची सार्वजनिक गर्ने महानिर्देशक घिमिरेले बताए । त्यसपछि बढेको भाडा कार्यान्वयनमा आउने विभागले जनाएको छ । छोटो दूरीको भाडा भने प्रदेश सरकार मातहत भएकाले तत्काल स्थानीय सरकारले केही निर्णय गरेका छैन ।

वैज्ञानिक भाडादर लागु
साथै सरकारले वैज्ञानिक भाडादर (स्वचालित रुपमा भाडा) समायोजन हुने निर्णय पनि गरेको छ । ५ रुपैयाँसम्म इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडामा पनि वृद्धि हुने र इन्धनको मूल्यमा कमि आउँदा सवारिको भाडादरमा कम हुने गरि स्वचालीत प्रणाली अनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यसो गर्दा इन्धनको मूल्यमा ५ रुपैयाँ तल माथि हुन साथ सार्वजनिक भाडादरमा परिवर्तन हुने छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस भाडा समायोजन गर्ने र स्वचालित मूल्य समायोजन लागु गर्ने सिफारिस गरेको थियो । विगत ९ वर्षदेखि हुन नसकेको वैज्ञानिक भाडादर प्रणाली समायोज हुन नसकेको भन्दै विभागले स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था गर्न मन्त्रालयमा प्रस्ताव गरेको थियो । विभागले वैज्ञानिक भाडादर लागु गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका आधारमा मन्त्रालयले भाडा समायोजन र स्वचालित मूल्य लागु गरेको हो ।
पछिल्लो समय पार्टपुर्जा तथा इन्धनको मूल्यमा भएको वृद्धिले गर्दा यातायात व्यवसायीले मुूल्यवृद्धि समायोज सम्बन्धी मापदण्ड तयार गर्न माग गर्दै आएका थिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा वृद्धि भएपछि हाल पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल प्रतिलिटर १३८ रुपैयाँ रहेको छ । गत असारमा संघीय सरकारले लामो दूरीको सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्