Logo

लमजुङको घलेगाउँ ‘सुखीगाउँ’ घोषणा हुने

स्मार्ट भिलेज अवधारणासहित अघि बढेको सार्क राष्ट्रकै नमुना लमजुङको ग्रामीण पर्यटकीय घलेगाउँ अब सुखीगाउँ घोषणा हुने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी घलेगाउँलाई सुखीगाउँ घोषणा गर्न लागिएको जनाएको हो ।
व्यावसायिक पर्यटन सुरु गरेको २० वर्षपछि स्थानीय आफैंले सुखीगाउँ घोषणा गर्न लागेका हुन् । २०५७ सालबाट ग्रामीण पर्यटनको कदम चालेको घलेगाउँ नेपालकै उत्कृष्ट होमस्टेदेखि दक्षिण एसियाकै नमुना घलेगाउँको उपमा पाइसकेको छ । पर्यटकहरूलाई थप आकर्षण गर्न स्मार्ट भिलेजको रूपमा प्रवद्र्धन गरेको घलेगाउँले पर्यटन व्यवसायबाट हरेक स्थानीयको आत्मसन्तुष्टि मिलेको भन्दै सुखीगाउँ घोषणा गर्न लागेको घलेगाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घलेले बताए । “पर्यटन व्यवसायबाट हामी घलेगाउँबासी सन्तुष्ट भएका छौँ,” अध्यक्ष घलेले भने, “हामी सबैको आत्मसन्तुष्टिबाट हामी आफैंले सुखीगाउँ घोषणा गर्न लागेका हौं ।”
पर्यटन व्यवसायबाट सन्तुष्ट घलेगाउँका स्थानीयले आगामी वैशाख २ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी सुखीगाउँ घोषणा गर्न लागेका हुन् । हजारौ आन्तरिक तथा बाह्यपर्यटकको रोजाइमा परेको घलेगाउँको प्राकृतिक एवं साँस्कृतिक सम्पदासँगै पर्यटकीय पूर्वाधार निर्माण भएका छन् । पर्यटकहरूको आगमन वृद्धि भएसँगै स्थानीयको आयआर्जन सुधार भएको छ । प्रतिपरिवार मासिक २५ हजार देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । पर्यटक आगमनले स्थानीय निकै उत्साहित छन् ।
घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
“हामी घले गाउँमा ४२ घरमा होमस्टे सञ्चालन छ, तर त्यसबाहेकका प्रत्येक घरले पनि कुनै न कुनै तरिकाले आर्थिक उपार्जन गर्दै आएका छन्,” अध्यक्ष घलेले भने, “पर्यटन, कृषि, परम्परागत सामग्री र व्यावसायिक चिया खेती हाम्रो नियमित आम्दानीका स्रोत हुन् ।”
घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् । विदेशीसँगै नेपाली विद्यार्थी, शिक्षक, प्रकृतिप्रेमी, साहित्य तथा कलाक्षेत्रमा रुचि भएका साथै विभिन्न ग्रामीण भेगका आमा तथा बाबा समूहहरू घलेगाउँमा पुग्ने गरेका छन् । पछिल्लो समय पर्यटकीय सम्भावना भएका नयाँ गन्तव्यका प्रवद्र्धक सिकाइका लागि पनि घलेगाउँ पुग्ने गरेको पाइएको छ ।
क्होेलासोँथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाइमा पर्दछ । सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
घलेगाउँमा पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय संग्रहालय निर्माण गरिएपछि संग्रहालय हेर्न थप पर्यटकको आगमन हुने गरेको छ । यसैगरी घलेगाउँमा रहेको चियावगानले पनि पर्यटकलाई थप आकर्षण गरेको छ । घलेगाउँको प्राकृतिक सुन्दरता, गाउँमा आएका पाहुनालाई गरिने स्वागत सत्कार, स्थानीय संस्कृति र व्यवस्थित होमस्टेले आफूहरूलाई प्रभावित बनाएको पर्यटकहरू बताउँछन् । घलेगाउँमा पुगेका पाहुनालाई स्थानीय आमा समूहहरूले आफ्नै संस्कृतिअनुसार स्वागत र बिदाई गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्