स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी «

स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ ।
बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिएको हो । त्यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्थासमेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए ।
प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ । प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरूको जिज्ञासा समाधान गरेको पनि बताए । आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ ।
प्रवक्ता पौडेलले भने, ‘स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी भएको छ । र निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
त्यस्तै स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिइएको छ ।
आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको छ । कल सेन्टर सञ्चालन भएको पहिलो दिन ३१० कल र दोस्रो दिन २६१ कलहरूबाट मतदाताहरूको जिज्ञासा समाधान गरिएको छ । यसका लागि ११०२ नम्बरको टोल फ्रि नम्बर हामीले व्यवस्था गरेका छौँ ।
विशेष गरी मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षालगायतका विषयहरूमा आम मतदाताहरूबाट जिज्ञासा आउने गरेका छन् । यो बाहेक आजमात्रै निर्वाचन आयोग र नेपाल ल सोसाइटीको संयुक्त आयोजनामा केन्द्रमा कोड अफ कन्डक्टर आचारसंहिताहरूको प्रचारप्रसार अथवा सचेतनासँग सम्बन्धित कार्यक्रम आज काठमाडौंमा सम्पन्न भयो ।’
प्रवक्ता पौडेलले कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरूमा आम मतदाताहरूबाट जिज्ञासा आउने गरेको बताए । त्यस्तै आयोगले बिहीवार निर्वाचन आयोग र नेपाल ल सोसाइटीको संयुक्त आयोजनामा केन्द्रमा आचारसंहिताहरूको प्रचार–प्रसार तथा सचेतनासँग सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्