कारोबारका सम्पादक चालिसेसहित पत्रकार पुरस्कृत «

कारोबारका सम्पादक चालिसेसहित पत्रकार पुरस्कृत

रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधाका पुरस्कार वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार वितरण गरेका हुन् ।
यस वर्षको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । त्यसैगरी ‘तेजेन्द्र–सन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार’ कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । यी दुवै पुरस्कार क्लबले पहिलो पटक प्रदान गरेको हो ।
चालिसे जनता साप्ताहिक, हिमालय टाइम्स, एचबीसी ९४ एफएम, दि हिमालयन टाइम्स, अन्नपूर्ण पोष्ट, नागरिक तथा रिपब्लीका दैनिक हुँदै हाल कारोवार दैनिकमा सम्पादकका रुपमा कार्यरत छन् । साढे दुई दशकभन्दा बढिदेखि विभिन्न अंग्रेजी तथा नेपाली छापामाध्यम एवं विद्युतीय माध्यममार्फत पत्रकारिता गरे वापत चालिसेलाई एक लाख नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ५० हजार रुपैयाँ राशिको ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई प्रदान गरेको छ ।
त्यसैगरी जनही २५ हजार राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिएको छ ।
त्यसैगरी प्राइम टाइम्स टिभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही २० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्