जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमको नयाँ भ्वाइस प्याक «

जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमको नयाँ भ्वाइस प्याक

नेपाल टेलिकमले नयाँ अल नेट भ्वाइस प्याक अफर सार्वजनिक गरेको छ । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको हो ।
टेलिकमले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अल नेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो ।
सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सियुजी प्याकलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् ।
नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइएको छ । यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा २५ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट र १५ रुपैयाँमा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराएको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ५९९ रुपैयाँमा कम्पनी भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।
अब ५९९ रुपैयाँमा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जिबी डेटा चलाउन सकिनेछ । साथै, ७९९ रुपैयाँमा कम्पनी भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जिबी डेटा समेत चलाउन सकिन्छ ।
९९९ रुपैयाँ र १४ सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसैगरी, यी प्याकमा क्रमशः प्रतिदिन २ जिबी र ४ जिबी डेटा तथा ४०० वटा र १,००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
यी प्याकहरू पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने टेलिकमले बताएको छ । नयाँ प्याकहरू १७ चैतदेखि ४ वैशाख २०७९ सम्म खरिद गर्न सकिनेछ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्