Logo

रघुगंगामा सार्वजनिक सुनुवाइ

म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको विषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाइमा सहभागीहरूले विकास खर्चलाई बढाउन नसकेको, ठेक्कामार्फत अघि बढेका योजनालाई गतिदिन नसकेको, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वास्तविक लाभग्राही समेटिन नसकेको, मौवाफाँट सामुदायिक स्वास्थ्य इकाईलाई पूर्वाधारयुक्त बनाउन उपेक्षा गरिएको, सार्वजनिक सुनुवाइमा वडाका जनप्रतिनिधि नै उपस्थित नभएको, आवश्यकताभन्दा बाहिर गएर खानेपानीका पाइप वितरण गरेको लगायतका गुनासो गरेका थिए ।
सुनुवाइमा आएका प्रश्नहरूको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदील तथा विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए । दोस्रो चौमासिकको प्रगति सार्वजनिक तथा समीक्षासँंगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै कार्यालयको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाले पाँच वर्षे कार्यकालमा विकासको आधार तयार गरेको बताउँदै हरेक बस्तीमा सडकको सञ्जाल पुग्नु, विद्यालयहरूको पूर्वाधार तयार हुनु, दुर्गम बस्तीमा स्वास्थ्य इकाई सञ्चालन लगायतका कामले नागरिकलाई विकासको आधारभूत प्रत्याभूति दिलाएको बताए ।
गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले भौगोलिक विकटता, स्रोत साधनको अभावका बीच पनि गाउँपालिकाले पहिलो कार्यकालमा उल्लेख्य रूपमा भौतिक पूर्वाधार निर्माणमा प्रगति हासिल गरेको दाबी गरिन् । कार्यक्रममा कांग्रेस म्याग्दीका उप–सभापति एवं गाउँपालिका अध्यक्षका सल्लाहकार केवी भण्डारीले राजनीतिक दलहरूमा गाउँमा विकासमा प्रतिस्पर्धा र सहकार्य हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्