Logo

बन्दा बिक्री नहुँदा कृषकलाई समस्या

दाङ-जिल्लामा कृषकले उत्पादन गरेको बन्दा गोभी बिक्री नहुँदा समस्यामा परेको कृषकहरुले बताएका छन् ।
घोराही उपमहानगरपालिका–६ गुरगई निवासी किसान प्रेमबहादुर चौधरीले दश कठ्ठा जमिनमा खेती गरेको गोभी नबिक्दा समस्यामा परेका बताएका छन् । तयारी अवस्थामा रहेका गोभी नबिक्दा मर्कामा परेको चौधरी बताउँछन् । करिब दश कट्ठा जमिनमा रोपेको माधुरी जातको फूलगोभी मध्ये ६ कठ्ठा जमिनमा गोभी तयार भए पनि बेच्नलाई समस्या भएको उनले बताए ।
दश कठ्ठा मध्ये अहिले ६ कठ्ठा जमिनमा बिक्रीका लागि तयारी अवस्थामा गोभी रहेको बताए । “केही होला भनेर दश कठ्ठामा गोभी खेती गरेको थिएँ, त्यसमध्ये अहिले ६ कठ्ठा जमिनमा रोपेको गोभी बिक्रीका लागि तयार भएका छन्” चौधरीले भने, “तर बजारमा बिक्री गर्नका लागि लैजाँदा व्यवसायीले किन्नै मान्दैनन् ।” उनले कतिपय व्यवसायीले अत्यन्तै कम बजार मूल्य पाँच रूपैयाँ प्रतिकिलो माग्ने गरेको बताए ।
एक हप्ताभित्र गोभी बिक्री नगरे बारीमै फुलेर खेर जाने अवस्था सिर्जना भएको उनले गुनासो पोखे । “करिब ५० हजार रूपैयाँ खर्च गरेर दश कठ्ठा जमिनमा गोभी रोपेको थिए । त्यो मध्ये ६ कठ्ठा जमिनको गोभी तयार भएको छ” उनले भने, “तर बजारमा बेच्न लग्दा बिक्दैन, कतिपय थोरै मूल्यमा माग्नु हुन्छ, पाँच रूपैया केजीमा दिन सकेको छैन ।”
उनले पाँच रूपैयाँ केजी गोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने बताए । गोभीको बिउ उमार्न देखि खानका लागि तयार पार्दा सम्म करिब ५० हजार रूपैयाँसम्म खर्च भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनी बताउँछन् । “कम मूल्यमा बिक्री गर्दा मेरो लगानी नै उठ्दैन” उनले भने, “त्यसैले घाटा खाएर बिक्री गर्नु भन्दा बरु गाई–भैँसीलाई खुवाउने साथै गाउँघरमा बाँड्ने गरेको छु ।”
गत वर्ष यो सिजनमा दैनिक सय केजीसम्म गोभी बिक्री गर्ने गरे पनि यो वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा गोभी आउँदा बिक्री गर्न धौ–धौ भएको उनले बताए । विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले गत वर्ष व्यावसायिक गोभी खेतीबाट राम्रो आम्दानी लिएको समेत बताए । “विगत दश वर्षदेखि निरन्तर रूपमा तरकारी खेती गर्दै आएको छु” उनले भने, “यस्तो गोभी नबिक्ने समस्या कहिल्यै भएको थिएन ।”

प्रतिक्रिया दिनुहोस्