Logo

हतियार बुझाउन प्रशासनको आग्रह

लमजुङ – स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियारहरू प्रहरीलाई बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने उपनिर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो ।
मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना वजारी गरी हतियार बुझाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । प्रशासनले जिल्लाका सम्बन्धित व्यक्तीहरूलाई चैत्र मसान्त भित्र हतियार बुझाउन आग्रह गरेको हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा आठ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तीहरूसँग ईजाजत सहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका ब्यक्तीहरूले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।
इजाजत प्राप्त व्यक्तिहरूले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्र्तगत कारबाही गर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक हजार एक सयभन्दा बढी हतियार दर्ता भएका छन् । जिल्लामा पछिल्लो आर्थिक वर्षमा भने सातसयको हाराहारीमा मात्रै हतियार नवीकरण भएको प्रशासनले जनाएको छ । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो । हाल केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भनेप नि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता अपनाएको सुरक्षा समिति लमजुङले जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिँदै गर्दा सम्वन्धीत निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा कडाइ गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले बताए ।
विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिहरूप्रति पूर्वसतर्कता अपनाउन समग्र जिल्लाको सुरक्षा ब्यवस्था विशेष योजना सहित कडाई गरिने सुरक्षा समितिले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न सुरक्षा समिति लागि परेको प्रजिअ बैद्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्