कर्णालीमा दुई लाख मतदाता थपिए «

कर्णालीमा दुई लाख मतदाता थपिए

सुर्खेत- कर्णाली प्रदेशमा करिब दुई लाख मतदाता थपिएका छन् ।
पछिल्लो चार वर्षमा एक लाख ८६ हजार चार सय ३६ मतदाता थपिएका हुन् । २०७४ मा प्रदेशभर आठ लाख १४ हजार ८ सय ४६ मतदाता थिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार कर्णालीमा १० लाख एक हजार २ सय ८२ जना मतदाता रहेका छन् ।
कुल मतदातामध्ये पाँच लाख ६ हजार १ सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या चार लाख ९५ हजार ९९ जना रहेको छ । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै मतदाता सुर्खेतमा छन् । दुई लाख ३८ हजार ४ सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष एक लाख १६ हजार ३ सय ३६ जना छन् भने महिला एक लाख २२ हजार १ सय २१ छन् ।
यसैगरी दैलेखमा एक लाख ५८ हजार ४ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटमा एक लाख तीन हजार ८ सय ६९ जना, रूकुम पश्चिममा एक लाख चार हजार ४ सय ८२ र सल्यानमा एक लाख ५७ हजार ७ सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार डोल्पामा २२ हजार चार सय ४० जना, मुगुमा ३५ हजार ८९ जना, जुम्लामा ६७ हजार सात सय ४४ जना र कालिकोटमा ८० हजार ४ सय १६ जना हुम्लामा ३२ हजार ५ सय ७१ जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि प्रदेशभर नौ सय सात वटा मतदान स्थल र एक हजार तीन सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णाली प्रदेशको रुकुम–पश्चिममा सात दल दर्ता भएका छन् । यस्तै सल्यानमा सात, डोल्पामा पाँच, जुम्लामा आठ, मुगुमा नौ, हुम्लामा नौ वटा दल दर्ता भएका छन् । त्यसैगरी कालीकोटमा १४, जाजरकोटमा सात, दैलेखमा आठ र सुर्खेतमा १९ वटा दल दर्ता भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्