१३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन
‘जलविद्युतबाट नेपालको आर्थिक समृद्धि’

कास्की-नयाँमोदी (पर्वत)–लेखनाथ (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाअन्तर्गत लाहाचोक सबस्टेसनको एक समारोहका बीच सोमबार उद्घाटन गरिएको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा हालै निर्माण गरिएको उक्त सबस्टेसनको उद्घाटन गरेकी हुन् ।
सबस्टेसनमा १३२-३३ केभी, ३० एमभीए र ३३-११ केभी, ८ एमभीएका पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरू रहेका छन् । नयाँमोदी–लेखनाथ प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँमोदी १३२ केभी स्विचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३-११ केभी सबस्टेसन पनि जोडिने भएको छ ।
लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति वितरण गरिएको छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको प्राधिकरणले विश्वास लिएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिका लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या रहेको थियो । अब लाहाचोक सबस्टेसनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत प्राप्त गरेको स्थानीयले बताए । यसबाट विद्युतको प्राविधिक चुहावटसमेत घटेको छ ।
पर्वत, कास्की लगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि नयाँमोदी–लेखनाथ प्रसारणलाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत दुई अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।
यसैबीच, कार्यक्रममा बोल्दै मन्त्री भुसालले अब डेढदेखि दुई महिनापछि नेपाललाई आवश्यक पर्ने विद्युत उत्पादन हुने बताएकी छन् । अब नेपालमा भएको स्रोतसाधनले विद्युत उत्पादनमा केन्द्रित गरी आवश्यक परे विदेशी लगानीमा समेत विद्युत उत्पादनलाई तीव्रता दिइने सरकारको रणनीति योजना रहेको उनले जनाइन् । नेपालमा जलविद्युतबाट समेत आर्थिक समृद्धिको राम्रो आधार भएको दाबी गर्दै मन्त्री भुसालले नेपालमा आयात हुने पेट्रोलियम तथा एलपी ग्याँसलाई समेत विस्थापन गरी वार्षिक रूपमा साढे दुई खर्ब रुपैयाँ नेपालमै बचत गर्न सकिने जनाइन् । नेपालमा अब छिट्टै विद्युतमा आत्मनिर्भर हुने दाबी गरेकी मन्त्री भुसालले गण्डकी प्रदेश सरकारले घोषणा गरेको उज्यालो प्रदेश अभियानले आफुहरू थप प्रभावित भएकाले उक्त अभियान सफल पार्न आवश्यक सहयोग गर्ने वचन दिइन् ।
विगतमा बत्ती बाल्ने कुरामात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको मन्त्री भुसालको भनाइ थियो । “नदीमा पानीको बहाबका आधारमा विद्युत उत्पादन हुने आयोजना बढी रहेकाले बर्खामा धेरै विद्युत उत्पादन हुने र हिउँदमा कम हुने अवस्था भएको उनको भनाइ थियो । वर्खामा बढी भएको विद्युत निर्यातका लागि छिमेकी मुलुकसँग विद्युत व्यापार वृद्धिका लागि सकारात्मक छलफल भइरहेको मन्त्री भुसालको भनाइ थियो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रसारणलाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्ने बताए । ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिने आश्वासन दिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताए ।
भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसूदनन्ले प्रसारणलाइन तथा सबस्टेसनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको बताए । एक्जिम बैकका महाप्रबन्धक सरोज कुण्टियाले बैंकले नेपालमा विगत १६-१७ वर्षदेखि सहयोग गरिरहेको उल्लेख गर्दे प्रसारणलाइन र सबस्टेसनको निर्माणले स्थानीय समुदायलाई पनि लाभदिने जनाए । .माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले यस क्षेत्रमा १४३ मेगावाट विद्युत उत्पादन हुने सम्भावना रहेको बताए ।
नयाँमोदी–लेखनाथ प्रसारणलाइन आयोजनाअन्तर्गत नयाँमोदीमा १३२ केभी स्विचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनको बे निर्माणकार्य करिब एक अर्ब लगानीमा सम्पन्न भएको छ । सबस्टेसन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।