Logo

मधेस प्रदेशको दुई गाउँपालिकामा अख्तियारको छापा

सर्लाही-मधेस प्रदेशको दुई वटा स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
मधेस प्रदेशको सर्लाही जिल्लाको कौडेना र पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारले मंगलबार दिउँसो करिब २ बजेतिर कार्यालयमा गई कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कोरोनाका लागि सरकारले पठाएको राहत वितरणमा अनियमितता गरेको, कोरोना प्रभावितका लागि गएको रकममा अनियमितता गरेको, कर्मचारीहरूको तलबमा गडबडी गरेको सूचना पाएपछि छापा मारिएको हो ।
मंगलबार करिब ११ः३४ बजेको समयमा प्रादेशिक कार्यालय बर्दिवासबाट खटिएको अख्तियार अनुसन्धान आयोगको टोलीले कौडैना गाउँपालिकामा छापामारी कोभिडको समयमा स्वास्थ्यकर्मीलाई खुवाएको तलबसम्बन्धी कागजात पनि नियन्त्रणमा लिएको छ । कोरोना प्रभावितका लागि आएको अनुदान रकमको दुरुपयोग भएको उजुरी परेपछि सो सम्बन्धमा बुझ्नका लागि गाउँपालिकामा आएको अख्तियार अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माले जानकारी दिए ।
कोरोना अनुदानमा कोरोना प्रभावित ७ सय ४२ जनाका लागि आएको १० हजारका दरले ७४ लाख २० हजारमध्ये १२ लाख रुपैयाँ स्वास्थ्यकर्मीलाई खुवाएको देखिन्छ । तलबमा रकम अपुग भएपछि कोभिडको समयमा खटिएको स्थायी र अस्थायी कर्मचारीलाई १२ लाख रुपैयाँ खुवाएको लेखा शाखाले जनाएको छ ।
पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरेश साह ९ चैतसम्म कार्यालयमा हाजिर भए पनि ११ चैतसम्म भौचर उठाएको देखिन्छ । दर्ता फाइलसमेत बीचबीचमा खाली ठाउँ राखेको भेटिएको छ । अधिकृत साहले हस्ताक्षर गरेको ३४ वटा भौचरसमेत टोलीले नियन्त्रणमा लिएको छ । सुरेश साह अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कार्यालयमा सरुवा भइसकेका छन् ।
कौडैना गाउँपालिकाले कोरोनावापत प्राप्त गरेको अनुदान रकम वितरण नभएको र अनुदानवापतको खर्च भएको रकम रकमान्तर गरी वितरण गरिने नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवले जानकारी दिए । कोरोनाका बेला ८८ लाख रकमबाट प्रभावितलाई राहत बाँड्नु पर्ने भए पनि गाउँपालिकाले सो रकमबाट शिक्षकलाई तलब खुवाएको र सोमध्ये २४ लाख गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिकिल साहलाई सापटी दिएको बताइएको छ । साहको कोरोनाकै कारण मृत्यु भइसकेको छ । गाउँपालिकाका शिक्षकहरूलाई चौमासिक तलब खुवाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्