ओझेलमा परेको विश्वको तेस्रो अग्लो हिमाल «

ओझेलमा परेको विश्वको तेस्रो अग्लो हिमाल

विश्वमा हालसम्म मान्यताप्राप्त ८ हजार मिटरमाथिका १४ वटामध्ये ८ वटा अग्ला नेपालमा छन् । तिनमा विश्वकै सबैभन्दा अग्लो (८ हजार ८ सय ४८ मिटर) सगरमाथा अर्थात् चोमोलुङ्मा, तेस्रो अग्लो (८ हजार ५ सय ८६ मिटर) कञ्चनजंघा, चौथो (८ हजार ५ सय १६ मिटर) ल्होत्से-चे, पाँचौं (८ हजार ४ य ८४ मिटर) मकालु, छैटौं (८ हजार २ सय ३ मिटर) चोओ यू, सातौं (८ हजार १ सय ६७ मिटर) धौलागिरी, आठौं (८ हजार १ सय ६३ मिटर) मनास्लु र विश्वकै दसौं अग्लो हिमाल (८ हजार ९१ मिटर) अन्नपूर्ण प्रथम छन् ।
कञ्चनजंघा हिमाल वास्तविक रूपमा ५ वटा भए पनि हालसम्म एउटाले मात्रै आधिकारिक मान्यता पाएको अवस्था छ । कञ्चनजंघा क्षेत्रको माथिल्लो भेगमा रेड पान्डा, तिब्बती जंगली कुकुर, भालु, नाउर, लिँडे मुसा, घोरल, झारल, हिउँ चितुवालगायतका जंगली जनावरहरू पाइन्छन् भने डाँफे, मुनाल, चिर, कालिजलगायतका चराचुरुङ्गीहरू पनि पाइन्छन् । खासगरी कञ्चनजंघा क्षेत्र रेड पान्डा र हिऊँ चितुवाका लागि प्रसिद्ध छ ।
भूगोलविद् स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार जंगबहादुर राणाले लगभग १ सय ७० वर्षअघि जेसफ हुकर नामक बेलायती गोरालाई नेपाल आउन स्वीकृत दिएका थिए । जेसफले त्यो बेला तमोर नदीको बाटो ओलाङचङुगोला हुँदै चुङचेर्मासम्मको यात्रा गरेका थिए । त्यस क्रममा ती गोराले उक्त क्षेत्रबाट लालीगुराँसको फूलको बीउ पनि बेलायत लगेका थिए । भनिन्छ, सर्वप्रथम बेलायतमा लालीगुँरास भिœयाउने उनै जेसफ हुकर हुन् । डा. गुरुङका अनुसार जेसफले बेलायत फर्केपछि ताप्लेजुङ जिल्लाका बारेमा लेखेको ‘हिमालयन जर्नल’ नामक पुस्तकमा त्यो बेला ओलाङचुङगोलाले नेपाल सरकार (केन्द्र) लाई कति पैसा (कर) बुझाउँथ्यो ? ओलाङचुङगोला नाकामा के–के र कस्ता–कस्ता सरसमानको व्यापार हुन्थ्यो ? घुन्सामा कति घरधुरी थिए ? भन्नेसम्मका विवरणहरू उल्लेख गरेका छन् ।
त्यस्तै कञ्चनजंघा हिमाल र ओलाङचङुगोला क्षेत्रमा भ्रमण गर्ने दोस्रो विदेशीका रूपमा सन् १८९९ मा डगलस फ्रेसफिल्ड नामक बेलायती गोरा आएका थिए । उनी युरोपका धेरैजसो हिमाल चढेर नाम कमाइसकेका नामुद पर्वतारोही पनि थिए । अतः कञ्चनजंघा हिमाल कस्तो रहेछ ? हेर्ने (सके चढ्ने !?) र केही दिनसम्म कञ्चनजंघाको हिमाली क्षेत्रमा बस्ने हिसाबले उनी ठूलो दलबलसहित आएका थिए । तर, डगलस पनि नेपालको बाटो नभएर सिक्किमको बाटो भएर लाचुङ, जोङसाङ, चुमचेर्मा हुँदै कञ्चनजंघा छिरेका थिए, डा. गुरुङले ‘कञ्चनजंघा संरक्षण र ताप्लेजुङको विकास’ नामक हाते पुस्तकमा उल्लेख गरेका छन् ।
सन् १९२९, १९३० र १९३१ गरी तीन पटकसम्म जर्मनहरू कञ्चनजंघा हिमाल चढेरै छाड्ने अठोटसहित आएका थिए । तर, उनीहरूको तीनवटै प्रयास सफल हुन सकेन । सफलतापूर्वक कञ्चनजंघा हिमाल चढ्ने श्रेय बेलायती पर्वतारोही जे ब्राउन र जर्ज ब्यान्डले पाए । उनीहरुले सन् १९५५ मा कञ्चनजंघा हिमालको सफल आरोहण गरेका थिए । त्यस्तै सन् १९७३ मा जापानी पर्वतारोहीहरूले कञ्चनजंघा मुख्यभन्दा पश्चिममा रहेको ८ हजार ५ सय ५ मिटर अग्लो यलुङकाङ चढ्न आएका थिए । विभिन्न कारणले तत्कालीन सरकारले कञ्चनजंघा क्षेत्र (खासगरी ओलाङचुङगोला र घुन्सा) लाई निषेधित क्षेत्र घोषित ग-यो । फेरि सन् १९८८ मा कञ्चनजंघा हिमाल र वरिपरिका क्षेत्रलाई खुल्ला गरिनुका साथै सन् १९९७ मा सरकारले स्थानीय जनताको सहभागिता रहने गरी र साविक लेलेप, तापेथोक, ओलाङचुङगोला र याम्फुदिन गाविसलाई समेटेर ‘कञ्चनजंघा संरक्षण क्षेत्र’ घोषणा गर्यो ।
सरकारले ढिला गरी कञ्चनजंघा क्षेत्र विदेशीका लागि खुला गर्नु, भगौलिक हिसाबले नेपालको राजधानी काठमाडौंभन्दा टाढा रहनु, प्रचारप्रसारको कमी हुनु, पूर्वाधार विकास नहुनु जस्ता कुराले गर्दा विश्वकै तेस्रो अग्लो हिमाल भएर पनि ओझेल परेको छ— ‘कञ्चनजंघा ।’
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्