पार्टीले टिकट दिएमा मेयरमा उठ्ने मन्त्री थापाको उद्घोष «

पार्टीले टिकट दिएमा मेयरमा उठ्ने मन्त्री थापाको उद्घोष

पोखरा – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पार्टीले आफुलाई टिकट दिएमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार दिने बताएका छन् । प्रदेश सांसद भएदेखि नै बैठक भत्तादेखि मासिक पारिश्रमिक सामाजिक कार्यमा खर्चिँदै आएका मन्त्री थापाले यस वर्षको समेत पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बारे मंगलबार पत्रकार माझ सार्वजनिक गर्दै पार्टीले आफूलाई योग्य ठाँनेमा मेयरमा उठ्न चाहेको मनशाय व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका मन्त्री थापाले भने, “मैले पार्टीलाई धेरै योगदान दिएको छु, पार्टीले मलाई पोखरा बनाउने गरी मेयरमा उठाउन आग्रह गरे मेयरमा उठ्ने छु अन्यथा हाल बजारमा आएको हल्लाअनुसार हाल मेयरको रेसमा भने छैन ।” २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्त सम्म विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेको मन्त्री थापाले बताए । उक्त समयमा बैठकभत्ता देखि मासिक पारिश्रमिक आफ्नो बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा जम्मा भएकोे उनले जनाए । सांसददेखि मन्त्री हुदाँ पनि आफ्नो बैठक भत्तादेखि मासिक पारिश्रमिकभन्दा थप १ लाख २० हजार ५ सय ४७ रुपैया बढी खर्च भएको उनले जारी गरेको विज्ञेप्तिमा उल्लेख गरिएको छ । मन्त्री थापाले ४० वटा योजानहरू मध्य न्यूनतम ५ हजारदेखि २ लाख ५६ हजार रुपैयाँसम्म विभिन्न योजनमा बजेट विनियोजन गरेका छन् ।
१८ बर्ष राष्ट्र बैंकमा जागिर गरी पेन्सन समेत बुझेका मन्त्री थापाले पहिलो करिब १ बर्षको तलवभक्ता राष्ट्र बैंकबाट बुझेकाले त्यसको फिर्ता गर्ने प्रकृयामा समेत रहेको बताए । पछिल्लो करिब तीन बर्ष देखि राष्ट्र बैंकबाट पेन्सन नलिएको बताउदै मन्त्री थापाले प्राविधिक रुपमा सांसद भएको पहिलो वर्षमा दोहोरो सुविधा लिएको देखिएको भए पनि प्रदेश सभाबाट प्राप्त तलब भक्ता सामाजिक क्षेत्रमा खर्चिएको जनाए । मन्त्री थापा कास्कीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलन युनियनका अध्यक्ष नविल सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव प्रदीप पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्