नेप्से पुनः १४ सयमाथि «

नेप्से पुनः १४ सयमाथि

सेयर बजार परिसूचक पुनः १४ सय माथि चढेको छ । निरन्तर घटेको सेयर बजार सूचक यो साताका अन्ति २ दिन निरन्तर बढेको हो । बुधबार साढे एक अंकले बढेको सेयर बजार परिसूचक बिहीबार करिब १० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सुधारको संकेत देखिए पनि लगानीकर्तामा सेयर खरिद वा बिक्री गर्ने उत्साह भने बढेको देखिँदैन । सेयर बजार सूचक बढेपछि कारोबार रकममा देखिएको गिरावटले सेयर लगानीकर्ताको मनोबल कमजोर रहेको देखिन्छ ।
कारोबार रकममा बुधबारको तुलनामा सुधार आए पनि औसतमा कम हो । बिहीबार नेप्सेमा २८ करोडको मात्र सेयर किनबेच भएको छ । पछिल्लो दिनहरूमा निरन्तर घटेको सेयर बजारको कारोबार रकम पनि दैनिक रूपमा घटेको छ । यो साता नेप्सेमा मंगलबार ३२ करोड, बुधबार २६ करोड र बिहीबार २८ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
बिहीबार कारोबार सुरु हुँदा १३९४.७३ अंकमा रहेको नेप्से ९.८० अंकले बढेर बन्द हुँदा १४०४.५३ अंकमा छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ ।
नेप्सेमा कारोबार भएका बैंकिङ ८.६१, बिमा ८९.०२, व्यापार ८.२८, होटल २७.३५, जलविद्युत् ६.४१, उत्पादनमूलक समूह ३०.४५, वित्त १.६१ र लघुवित्त समूह २२.४३ अंकले बढेका छन् । तर, अन्य १.४५ र विकास बैंक समूह ३.०६ अंकले घटेका छन् ।
बिहीबार नेप्सेमा १५९ कम्पनीको ३ हजार ६ सय ७० कारोबारबाट २८ करोड २२ लाख रुपैयाँ बराबरको ६ लाख ६२ हजार १ सय ६९ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।

 

प्रतिक्रिया दिनुहोस्